झापा लिग : गौरादह र झापा नकआउट चरणमा
भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत झापा गाउँपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आजको खेलमा हारका बाबजुद झापा गाउँपालिका समूह ख को विजेता बनेको हो । आज भएको समूह ख को पाँचौँ खेलमा छिमेकी नगरपालिका कनकाईसँग हार व्यहोरे पनि यसअघिको दुई जित र गोल अन्तरका आधारमा झापा गाउँपालिका समूह विजेता बनेको हो । कनकाईले लिग चरणमा पहिलो जित दर्ता गरे पनि नकआउटमा प्रवेश गर्न सकेन । यसअघि कनकाई नगरपालिकाले दुई हार व्यहोरेको थियो ।
आजको खेलमा कनकाईले झापालाई १–० गोल अन्तरले हराएको हो । कनकाईका सन्दीप रसाइलीले खेलको ५३ औँ मिनेटमा गोल गरेका थिए । प्लेयर अफ दि म्याच भएका उनले नगद दुई हजार र ट्रफी पाए ।
यसैबीच, आज भएको दोस्रो तथा समूह ख को लिग चरणको अन्तिम खेलमा गौरादह नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै गौरादह पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
गौरादहसँगको हारसँगै समूह ख मा रहेको भद्रपुर ब्लेजर्स भने लिग चरणबाटै बाहिरिएको छ । आजको खेलमा भद्रपुर ब्लेजर्समाथि जित्नैपर्ने दबाबमा रहेको गौरादहले आफू पछि परेको नतिजा उल्ट्याउँदै नकआउटमा नाम लेखाएको हो ।
खेलको पहिलो हाफमा भद्रपुर ब्लेजर्सले २–० को अग्रता लिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नतिजा गौरादहलाई सुम्पिनु परेको थियो । दोस्रो हाफमा खेलमा फर्किएको गौरादहले भद्रपुर ब्लेजर्सलाई निक्कै नै दबाबमा राखेको थियो ।
गौरादहले भद्रपुर ब्लेजर्सलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २६ औँ मिनेटमा भद्रपुर ब्लेजर्सका निकेश गुरुङ र ३१ औँ मिनेटमा मौसम सुब्बा लिम्बूले गोल गरेका थिए ।
तर, गौरादहका लागि ४५ औँ मिनेटमा पासाङ लामा र ६३ औँ र ६९ औँ मिनेटमा अमन ताजपुरियाले गोल फर्काएपछि भद्रपुर ब्लेजर्स लिग चरणबाटै बाहिरिएको छ । लिग चरणमा गौरादहले दुई खेल जित्यो भने एक खेलका हार्यो ।
खेलको प्लेयर अफ द म्याच भएका गौरादहका अमन ताजपुरियाले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दीपेश ढकाल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सौजन्यकर्ता सञ्जय पोखरेल र केशवकुमार मैनालीले प्रदान गरेका थिए । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।