सुपारीको चलखेलकै कारण झापाको बदनामी भयो, आयात बन्द किसानको आग्रह
सुपारीमा भइरहेको चलखेललाई छताछुल्ल पार्दै त्यसलाई रोक्न सुपारी किसानहरूले संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
नेपाली उत्पादनलाई प्राथमिकता नदिई पैसा कमाउन बाहिरबाट सुपारी आयात गरी त्यसैलाई निर्यात गर्न भइरहेको चलखेल र दौडधुपको किसानहरूले खुलेर विरोध जनाएका हुन् । सुपारीको निर्यात सम्बन्धी समस्याका बारेमा अध्ययन गर्न आएको संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुपारीको आयात बन्द गर्न किसानहरूले आग्रह गरेका छन् । बिर्तामोडमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले सुपारीको बेथितिका बारेमा सरोकारवालाहरूलाई गम्भीर हुन आग्रह गरे । उनले सुपारीको समस्या समाधान गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि हल नभएको गुनासो गरे ।
नेपाल सुपारी खेती पहल समितिका अध्यक्ष गीता अधिकारीले नेपाली किसानले उत्पादन गरेको सुपारीको बजार सुनिश्चित नभएकाले किसानहरू साह्रै ठुलो समस्यामा रहेको सुनाए । सुपारी खेतीप्रति धेरै किसानहरू आत्मनिर्भर रहेकाले राज्यले सुपारीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा उत्पादित सुपारीलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिँदै आवश्यकताका आधारमा मात्र आयात गरिनुपर्ने बताए ।
सुपारी जोनका संयोजक दीपक गौतमले सुपारीको बजार मूल्यको सुनिश्चितता नभएका कारण किसानहरूले सुपारी खेती फाँड्नु पर्ने अवस्था आएको बताए । उनले सुपारीमा किसान र साना व्यवसायीभन्दा ठुला व्यवसायीहरूको बढी दौडधुप हुने गरेको यथार्थ सुनाए । सुपारीको चलखेलकै कारण झापाले बदनामी कमाउनु परेको उनको भनाई छ ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सुपारी आयात किन गर्नुपर्ने प्रश्न गर्दै नेपालमै उत्पादित सुपारी खपत हुन नसकेको अवस्थामा बाहिरबाट आयात गर्दा नै समस्या उत्पन्न भएको बताए । उनले सुपारी खेतीको तथ्याङ्क सही रुपमा निकाल्न नसकिएको दाबी गरे । नगर प्रमुख बुढाथोकीले सुपारीका विषयमा किसानलाई बदनाम नगरी प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।
बुद्ध शान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले धान खेती मासेर सुपारी खेती गरेका किसानले सुपारी पनि मास्नुपर्ने अवस्था आएको बताए । उनले सुपारीमा भइरहेको अन्यायप्रति संसदीय समितिको ध्यानाकर्षण गराए । जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले चलखेलकै कारण किसानले मूल्य नपाएकाले त्यसलाई रोक्न आग्रह गरे । किसानहरूले ध्यानाकर्षण गराएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सुपारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले सुपारी र सुपारी खेतीका बारेमा स्थलगत अध्ययन गर्न पाएकाले किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।
किसानका समस्याप्रति समितिका सदस्यहरू रणेन्द्र बराइली , रेखा यादव , रमा कोइराला पौडेल र सीता मिजारले पनि प्रतिबद्धता जनाएका थिए । नेपालमा १४ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ । त्यसमध्ये १० हजार ३०० मेट्रिक टन झापामै उत्पादन हुने गरेको तथ्याङ्क छ । त्यस्तै २७ हजार मेट्रिक टन सुपारी बाहिरबाट आयात हुने गरेको बताइन्छ । कोरोना कालमा रोकिएको सुपारीको आयात फेरि सुरु भएको किसानहरूको भनाइ छ ।राजधानीबाट आएको संसदीय समितिको टोलीले मंगलवार सुपारी खेतीको अनुगमन गरेको थियो ।