झापा लिगबाट हल्दिबारी बाहिरियो, बुद्धशान्ति समूह विजेता
भद्रपुर । भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ ।
आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंक छ ।
मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको २८ औँ मिनेटमा मेचीनगरका अरुण मेचेले गोल गरे । त्यस्तै, खेलको ५८ औँ र ६५ औँ मिनेटमा नीरज कार्कीले गोल गरेर जित निश्चित बनाए ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका नीरज कार्की भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे । यसैबीच, आज भएको बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीचको दोस्रो खेल बराबरीमा टुङ्गियो । दुवै टिमबाट गोल हुन नसकेपछि अंक बाँड्न बाध्य भए ।
यसैबीच, आजको खेलसँगै समूह (क)को लिग चरण सकिएको छ । यो समूहबाट हल्दिबारी बाहिरिएको छ । बुद्धशान्ति ४ अंकका साथ समूह विजेता बनेको छ भने बिर्तामोड २ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।
खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका पवन नेपाली दर्जी भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, समाजसेवी श्याम प्रसाईँले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।