२०८३ असार ११ गते , विहीबार

चन्द्रगढी विमानस्थलको रनवेमा स्याल, बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

sajilo news
पार्थ मण्डल
२०८० मंसीर १२ गते , मंगलबार
चन्द्रगढी विमानस्थलको रनवेमा स्याल, बुद्ध एयरको जहाजले गर्‍यो ओभरसुट

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्ग (रनवे)मा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ । काठमाडौँबाट ६ बजेर ३ मिनेटमा उडेको बुद्ध एयरको जहाज सोमबार साँझ ६ बजेर ५० मिनेटमा भद्रपुर आइपुगेको थियो ।

जहाज विमानस्थलमा अवतरणका लागि तयार रहेको बेला धावनमार्गमा एक्कासि स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको विमानस्थलका प्रमुख इन्दुराम अधिकारीले जानकारी दिए ।

विमानस्थलका कर्मचारीले तत्काल साइन जडित साधन लिएर स्याललाई धावनमार्गबाट खेदाएका थिए । त्यसपछि ओभरसुट भएको जहाजले आकाशमा एक फन्को लगाएर ७ बजेर ५ मिनेटमा सुरक्षित अवतरण गरेका थिए । ओभरसुटका कारण जहाज १५ मिनेट अवतरणमा ढिला भएको जनाइएको छ ।  सो जहाज ७ बजेर ३८ मिनेटमा यात्रु बोकेर काठमाडौँका लागि उडेका थिए । 

'रनवेमा जङ्गली जनावर आइराख्ने समस्या छ,' विमानस्थल प्रमुख अधिकारीले भने, 'विमानस्थल नजिकै चिया बगान र सानो खोल्सा रहेको त्यहीबाट बेला-बेला एउटा स्याल रनवेमा आउँछ ।' एउटा स्यालले साह्रै समस्या निम्ताइरहेको बताउँदै उनले भने, 'त्यो स्याललाई यहाँबाट हटाउन आवश्यक कदम चाल्नुपर्ने पर्ने भएको छ ।' यो विमानस्थलमा अवतरण गर्न लागेका जहाजहरूसँग रनवेमा चराचुरुङ्गीसँग ठोक्किएका घटनाहरू घटिरहेका छन् । 

सम्बन्धित समाचार