२०८३ बैशाख १५ गते , मंगलबार

झापा लिग : शिवसताक्षी र अर्जुनधाराले अंक बाँडे, झापा गाउँपालिका विजयी

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
झापा लिग : शिवसताक्षी र अर्जुनधाराले अंक बाँडे, झापा गाउँपालिका विजयी

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकाले अंक बाँडेका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी र अर्जुनधाराको खेल १–१ गोलमा सकिएको थियो ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा बराबरीसँगै शिवसताक्षी र अर्जुनधाराले एक एक अंक जोडेका छन् । खेलको ४९ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गरे । तर, खेलको ५९ औँ मिनेटमा शिवसताक्षीका हेमन लिम्बूले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका निखिल तामाङ भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मोगाहाङ थोप्रा, सौजन्यकर्ता नितेश बर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे । यसैबीच, आज भएको दोस्रो खेलमा झापा गाउँपालिका विजयी भयो । झापाले भद्रपुर ब्लेजर्सलाई १–० गोल अन्तरले हरायो । झापा गाउँपालिकाको तर्फबाट खेलको ६९ औँ मिनेटमा मर्गुस किस्कूूले गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच झापाका मर्गुस किस्कू भए । उनलाई गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापाका प्रमुख दुर्गाराज रेग्मी, र सौजन्यकर्ता दयाराज शर्माले नगद दुई हजार र ट्रफी प्रदान गरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार