बेतना सिमसारको तालाबन्दी कहिले खुल्छ ?
मोरङको बेलबारी–४ को बेतना सिमसारमा एक साताअघि गत मंगलबार बिहान स्थानीय बासिन्दाले लगाएको ताला अझै खुलेको छैन ।तालाबन्दी खोल्न सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय, राजनीतिक दल लगायत कसैले पनि अहिलेसम्म पहल गरेका छैनन् । सो समूहको यही मंसीर १६ गते साधारणसभा समेत तोकिएको छ । तर पनि आफूहरुको माग पूरा नभएसम्म कुनै पनि हालतमा साधारणसभा हुन नदिने आन्दोलनरत् संघर्ष समितिको तयारी छ ।
स्थानीय स्रोतसाधनमा स्थानीयको पहुँच नभएको र बेतना सिमसारमा चरम राजनीति भएको भन्दै सयौँ स्थानीयले तालाबन्दी गरेका थिए । बेतना सिमसार सामुदायिक वन समूहमा चरम राजनीति भएको र स्थानीय बासिन्दालाई उपेक्षा गरिएको भन्दै आक्रोशित उनीहरुले तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण बेतना सामुदायिक वन समूहलाई यसबीचमा लाखौँको घाटा समेत भएको छ । कार्यालय र टिकट काउण्टरमा ताला लगाइएको छ । बेलबारी–४मा रहेको बेतना सिमसारमा स्थानीय वडाबासीको स्वामित्वको माग समेत स्थानीयले गरेका छन् । बेतना सिमसारलाई बेलबारीका ११ वटै वडामा सदस्य बनाएर राजनीतिक दलहरुले राजनीतिक क्रिडास्थल बनाएको र स्थानीयहरुलाई उपेक्षा गरिएको उनीहरुको आरोप छ ।
बेतना सिमसारको नेतृत्व समेत राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र बेतना सिमसार लथालिंग बन्दा समेत राजनीतिक दलहरुले यसलाई क्रिडास्थल बनाएको उनीहरुको आरोप छ । स्थानीय मनिकुमार लिम्बूको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर स्थानीयले तालाबन्दी सहित संघर्षका कार्यक्रमअघि सारेका छन् ।
आफुहरु माथि पटक–पटक धोका भएको भन्दै लिम्बूले अब राजनीतिक दलसँग कुनै बार्ता नहुने र आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी रहने बताए ।