२०८३ असार ११ गते , विहीबार

चौतर्फी विरोधपछि हटाइयो इकम कलेजमा ‘श्री ५ महाराजाधिराज’ लेखेको शिलालेख

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
चौतर्फी विरोधपछि हटाइयो इकम कलेजमा ‘श्री ५ महाराजाधिराज’ लेखेको शिलालेख

चौतर्फी विरोधपछि बिर्तामोड नगरपालिका- १ स्थित इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो हजारौँको उपस्थितिमा राजषी शैलीमा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नेक्रममा सो विवादास्पद शिलालेख राखिएको थियो । शिलालेखमा ‘ श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको करकलमबाट बिर्तामोड नगरपालिका वडा नं १ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण एवं कलेजको विधिवत् समुद्घाटन कार्य सुसम्पन्न भयो । इति संवत् २०८० साल ०८ महिना ०९ गते रोज शुभम्’ लेखिएको थियो ।

सालिक अनावरण गर्नेक्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई आजै हटाउन लगाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्की बताए । शिलालेखका बारेमा आएको विरोधलाई आफूहरूले स्वाभाविक रुपमा लिएको बताउँदै उनले पूर्व राजाको सचिवालयले लेखेर पठाएको कुराहरूलाई हतारमा सम्पादन गर्न नसक्दा त्रुटि हुन गएको स्वीकार गरे । उनले दुई–तीन दिनपछि निर्माण हुने अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने जानकारी दिए ।

इकम कलेजले पूर्व राजाको नाम शिलालेखमा बहालवाला राजासरह लेखेपछि विरोध भएको थियो। कलेजले राजतन्त्रकै छनक दिने गरी शिलालेख बनाएर पूर्व राजा ज्ञानेन्द्रको उपस्थितिमा उद्घाटन गरेको थियो । पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो सालिक अनावरणसँगै इकम कलेजको समेत विधिवत् उद्घाटन गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले शिलालेखमा भएको त्रुटि सच्याउन कलेज प्रशासनलाई भनेपछि सो शिलालेख हटाएको जानकारी दिए । उनले हुँदै नभएको पद लेख्न नपाइने बताए ।

त्यस विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले पनि कलेज प्रशासनको ध्यानाकर्षण गराएका थिए । सालिक अनावरण कार्यक्रममा राष्ट्रिय गान ‘सयौँ थुँगा फुलका हामी, एउटै माला नेपाली’ समेत बजाइएको थिएन । कार्यक्रममा आयोजकले नेपाली राष्ट्र गान भन्दै स्वदेश गीत बजाएको थियो । ‘रातो र चन्द्र सूर्य’ बोलको स्वदेश गान कलेजकी छात्रा प्रेरणा ओलीले गाएकी थिइन् ।

सम्बन्धित समाचार