२०८३ असार ११ गते , विहीबार

तरकारी र फलफूलमा विषादी प्रयोग, न्यूनीकरणका लागि छलफल

sajilo news
झापा
२०८० मंसीर ९ गते , शनिबार
तरकारी र फलफूलमा विषादी प्रयोग, न्यूनीकरणका लागि छलफल

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले कृषक, व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा राखेर समसामयिक विषयमा छलफल गराएको छ । कृषि वस्तुको बजारीकरण, सागसब्जीमा विषादीको न्यूनीकरण, ग्रेडिङ तथा प्याकेजिङका विषयमा समितिले एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरी छलफल गराएको हो ।

फलफूल तथा ताजा तरकारीमा विषादी प्रयोगका समस्या र बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने वा समाधानका उपायहरू , ताजा तरकारी तथा फलफूलको ग्रेडिङ, प्याकेजिङ तथा लेभलिङको वर्तमान समस्या , त्यसका कमी कमजोरी सुधार गर्नुपर्ने समाधानका उपायहरू , उत्पादक किसानले कृषि उपजको उचित मूल्य नपाएको गुनासो , समाधानका उपायहरू , कृषि बजारका समस्याहरू ,समाधानका उपायहरू , कृषि उपज उत्पादकले उचित मूल्य नपाउने कारण र समस्याहरू तथा ती समस्याको समाधानका उपायहरूका बारेमा छलफल गरिएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले बताए ।

कृषि अर्थविज्ञ शालिकराम भट्टराईले सहजीकरण गरेको कार्यक्रममा कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको क्षेत्रभित्र परेको जिल्लाका ८ पालिकाका कृषक , कृषि बजारका व्यवसायी र उपभोक्ताका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले उत्पादन वृद्धिका लागि प्रयोग गरिने विषादीको नियमन गर्न ल्याबको सुदृढीकरणमा जोड दिए । उनले कृषि बजारमा निर्मित कोल्ड स्टोरलाई बढीभन्दा बढी सदुपयोग गरिनुपर्ने बताए । समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का कार्यवाहक वडाध्यक्ष दुर्गा शिवाकोटी , राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, उपभोक्ता हित संरक्षण मञ्च बिर्तामोडका अध्यक्ष ओमभक्त सेढाई, विषादी परीक्षण प्रयोगशालाकी कर्मचारी रचना कार्कीलगायतको उपस्थिति रहेको थियो । समितिकी सदस्य बिन्दा लुइँटेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक सीताराम नेपालले गरेका थिए ।

सम्बन्धित समाचार