२०८३ बैशाख ३० गते , बुधबार
हेलमेटभित्र ७० ग्राम ब्राउन सुगर ल्याउने दुई भारतीय युवक पक्राउ
सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय युवक पक्राउ परेका छन् । बुधवार साँझ ८ बजे इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८एइ ६०७५ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत जोगबनीका २७ वर्षीय सोनु कुमार चौधरी र पछाडि सवार भारत ग्राम पञ्चायत ११ का बलवीर रामलाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चालक चौधरीसँग ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उनले हेलमेट भित्र लुकाइछिपाई ब्राउन सुगर ल्याएका थिए । पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।