मेची रंगशालामा आजदेखि प्रथम झापा लिग
भद्रपुर । भद्रपुरस्थित मेची रंगशालामा आज (बिहीबार)देखि प्रथम झापा लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । फुटबलको उर्वर भूमि झापा जिल्लाको १५ वटै पालिकाहरूबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले भद्रपुर झापा गोल्डकपको आयोजनामा अन्तरपालिका जिल्लास्तरीय लिग प्रतियोगिता सुरु हुन लागेको हो ।
मङ्सिर २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्ने आयोजक समितिले जनाएको छ ।
ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको मुख्य प्रायोजक रहेको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगीरथ आले मामाले बताए ।
प्रतियोगिता सम्पन्नका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिसकेको अध्यक्ष दीपेश ढकालले जानकारी दिए । मेची रंगशालाको खेल मैदान तयारीदेखि व्यवस्थापन सम्बन्धी सबै तयारी पूरा भइसकेको उनले बताए ।
गत फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको बताउँदै उनले भने, ‘रंगशालाको अस्तित्व जोगाई राख्नुका साथै लिगबाट चुनिएका उत्कृष्ट खेलाडी छनोट गरी जिल्लास्तरीय टिम गठन गर्ने लक्ष्य पनि राखेका छौँ ।’ सो टिमलाई २०८१ को दोस्रो भद्रपुर झापा गोल्डकपमा खेलाइने उनको भनाई छ ।
जिल्लाका १५ वटा पालिकामध्ये १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन । १५ वटा टिमलाई चार वटा समूहमा विभाजन गरी लिग खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मङ्सिर २४ गते हुनेछ ।
खेल तालिकाअनुसार समूह (क) मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह (ख) मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह (ग) मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह (घ) मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद २ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ, ट्रफी पाउने छन् ।
त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । पालिकाहरुले झापा लिग खेलाउन पालिकास्तरहरुबाट आ–आफ्नो खेलाडी चयन गरिसकेको जनाइएको छ ।