२०८३ असार ११ गते , विहीबार
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक भुटानी शरणार्थीको मृत्यु
झापा । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक भुटानी शरणार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर बी टु ,हट नम्बर २५२ बस्ने अन्दाजी ७२ वर्षीय पदमलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
तामाङ हम्सेदुम्से सामुदायिक बनभित्र साईकल चढेर दाउरा काट्न गएका थिए । हिजो बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा उक्त बनभित्र हात्तीले किचेको अवस्थामा मङ्गलवार राती ९ बजे उनको शव फेला परेको थियो । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले राति १०:५५ बजे कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।