२०८३ असार ११ गते , विहीबार

पूर्वाञ्चल दैनिक प्रकाशनको २९ औं वर्षमा

sajilo news
झापा
२०८० मंसीर १ गते , शुक्रबार
पूर्वाञ्चल दैनिक प्रकाशनको २९ औं वर्षमा

बिर्तामोड । झापाको बिर्तामोडबाट निरन्तर प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिक २९ औं वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहास हेर्दा मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएर बिर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले सफलता पूर्वक २८ औं वर्ष पूरा गरेको हो ।
श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र हो । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रत्यक्ष बिक्री वितरण हुँदै आएको पूर्वाञ्चल अनलाइन पोर्टलमार्फत विश्वभरका पाठक माझ पुग्न सफल भएको छ । अनलाइन पोर्टलमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोबाइलबाटै पढ्न सकिने भएकाले आज पर्यन्त पाठक, विज्ञापन दाता तथा शुभचिन्तकहरूको रोजाइमा रहेको बताइन्छ ।
२९औं वर्ष प्रवेशको क्षणमा पूर्वाञ्चलले आफ्ना समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरू, शुभचिन्तक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
अहिले आम सञ्चारजगतले अनुभूत गरेको र भोगेको अवरोध तथा संकट विद्यमान रहेको र  नेपालका सञ्चार माध्यम विगतका बर्सहरूमा महामारीका रुपमा विस्तार भएको  कोभिड विपद्पछि राम्ररी चल्न नसकेको पूर्वाञ्चलले उल्लेख गरेको छ ।  ‘सञ्चार माध्यमको मुख्य आयस्रोत विज्ञापन हो । कोभिडपछि विज्ञापन बजार खुम्चिएको छ । भएका विज्ञापन पनि इन्टरनेटका माध्यमतर्फ केन्द्रित छन् । नेपाली छापा माध्यम सङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको छ’–२९ औं वर्ष प्रवेशको सन्दर्भमा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले सरकारको ध्यानाकर्षण गराउँदै भने–‘ नेपाली छापा माध्यमको विकास र प्रवर्द्धनमा तीनै तहका सरकारको विशेष ध्यान जान जरुरी छ ।’
 संविधानको मूल मर्म र भावना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुरक्षित राख्ने अठोट अनुसार अघि बढेको पूर्वाञ्चलले जनाएको छ ।  पत्रकारिताको आदर्श, निष्ठा, आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म र भावना अनुसार वस्तुनिष्ठ, सत्य–तथ्य, सन्तुलित, खोजमूलक समाचार सामग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई सचेत र गतिशील बनाउँदै लैजाने कार्यमा पूर्वाञ्चलले प्रतिबद्धता दोहोर्‍याएको छ ।
पूर्वाञ्चल पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबद्र्धनमा समेत लक्षित रहेको जनाइएको छ । पूर्वाञ्चललाई अझ प्रभावकारी र समय सापेक्ष बनाउन आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी  नयाँ सोच, योजना र लक्ष्य अनुसार प्रकाशन र प्रसारणको काम सँगसँगै नयाँ ढङ्गले अघि बढाउने प्रतिबद्धता पूर्वाञ्चलले सार्वजनिक गरेको छ ।    

सम्बन्धित समाचार