तिहार अवधिभर झापामा आगलागीका घटना : एकको मृत्यु, दुई घाइते, ७० लाख बढीको क्षति
तिहार र आसपासका बेला झापामा धेरै आगलागीका घटना भएका छन् । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । १६ दिनको अवधिमा १४ वटा आगलागीका घटना भएको र त्यसबाट ७० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
गत कात्तिक २३ गते राति ८.४० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी हुँदा उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त आगलागीबाट ७३ वर्षीय शिवकुमार राईसमेत जलेर सामान्य घाइते भएका थिए । उपचारपश्चात् उनी घर फर्किएका छन् । आगलागीबाट घर,अन्नपात,कुखुरा पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै गत कात्तिक १३ गते राति १२.४५ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ किसनभिट्टा बस्ने शेरबहादुर बिस्टको घरनजिकै रहेको धानसहितको परालको कुन्यूमा अचानक आगलागी हुँदा २२ कट्ठा खेतको अन्दाजी ६० मन धान र परालसमेत जलेर नष्ट हुँदा अन्दाजी ७२ हजार बराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै गत कात्तिक १५ गते बिहान ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ११ लाबरबोटे टोल बस्ने टीकाराम कार्कीको गाईगोठमा खोले पकाउने चुलोबाट अचानक आगलागी हुँदा गाईगोठ तथा गोठमा राखेको काठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जसबाट अन्दाजी ३ लाख बराबरको क्षति भएको छ । त्यसको भोलिपल्ट कात्तिक १६ गते अन्दाजी ५.३० बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित प्रादेशिक अस्पताल अगाडी रहेको मानबहादुर खड्का र यमकुमारी खड्काले सञ्चालन गरेको सिन्धुली खाजा घरको ग्यास चुल्होको रेगुलेटरबाट अचानक ग्यास लिक भई आगलागी हुँदा ग्यास चुल्हो, किचन र्याक, खाद्यान्न, भाडा वर्तन, पानीको ड्रमलगायतका सामानहरू जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।
त्यसको भोलिपल्ट कात्तिक १७ गते दिउँसो १.३० बजेको समयमा दमक नगरपालिका वडा नं.३ दुम्से बस्ने ६५ वर्षीय लक्ष्मण महतको २ तले टाँडे घरमा बिजुलीको तार अचानक सर्ट हुन गई आगलागी हुँदा माथिल्लो तल्ला पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घर कोठाभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडा वर्तन अन्दाजी ७ लाख , नगद रु.१ लाख ,२० हजार , सुन १५ तोला ,चाँदी १० तोला गरी जम्मा २३ लाख ३४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । त्यस्तै कात्तिक २१ गते दिउँसो १.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ३ स्थित मनारु हकको घरछेउमा राखेको मकैको खोस्टाको सन्ठी राखिएको ठाउँमा अचानक आगलागी भई आगो निभाउने क्रममा मनरु हककी श्रीमती ४७ वर्षीया रफिम बीबी घाइते भएकी छन् । अनुहारमा जलेर सामान्य घाइते उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो ।
सोही घटनाको भोलिपल्ट कात्तिक २२ गते मध्यान्ह १२ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ९ नरियाबारी बस्ने पुष्पराज आचार्यको खेतमा रहेको धानको ठुटा जरामा आगो लगाई जलाउने क्रममा उक्त आगोले ५ कट्ठा खेतको परालको कुन्यूमा आगो सल्किन गई पराल पूर्ण रुपमा जली नष्ट हुनुका साथै २ वटा कुकुरको बच्चाहरू समेत जलेर मरेका छन् । आगलागीबाट १० हजार बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै कात्तिक २४ गते साँझ ५.२० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मंगलबारे बस्ने जेठा भन्ने कुमार तामाङको गाईगोठमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घर बनाउन राखेको सखुवाको काठ अन्दाजी १५० क्यू.फिट, कुकाठ अन्दाजी ५५ क्यू.फिट, धान १२ मन, मकै ४ मन, गोठमा राखेको पराल र गोठ समेत पूर्ण रुपमा जल्दा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।
त्यस्तै कात्तिक २७ गते बिहान ४.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ६ हनुमान चोक बस्ने राजन मण्डलको काठको खम्बा, टिनको छानो टाटी बेरा भएको भुइँतले घरमा बिजुलीको लाइन सर्ट भई आगलागी हुँदा घरभित्र रहेका नगद रु.६० हजार ,सुन २ तोला ,चाँदी ११ तोला, लत्ताकपडा, भाडा बर्तन ,काठ र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख ३१ हजार बराबरको क्षति भएको छ ।
त्यसको भोलिपल्ट कात्तिक २८ गते दिउँसो ४.१५ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं. १ वरपीपल चौक बस्ने देवीनारायण श्रेष्ठको घरनजिकै खेतमा रहेको एक बिगाहा खेतको धानको कुन्यूमा अचानक आगलागी भई धान पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ९२ हजार बराबरको क्षति भएको छ ।
सोही दिन दिउँसो ४ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं. ८ गरामनि बस्ने युवराज पौडेलको घरछेउमा रहेको धानसहितको परालको कुन्यूमा आगलागी हुँदा अन्दाजी ३० मन धानसहितको पराल जलेर नष्ट भएको छ । जसबाट अन्दाजी ४० हजार बराबरको क्षति भएको छ ।
त्यसको भोलिपल्ट कात्तिक २९ गते बिहान २.३० बजेको समयमा दमक नगरपालिका वडा नं.३ दुम्से बस्ने मनबहादुर बोहराको टिनको छानो, टाटीको बेरा भएको एकतले गाई गोठबाट अचानक आगलागी हुँदा ठुलो क्षति भएको छ । सो आगलागीबाट मनबहादुर बोहराको टिनको छानो, टाटीको बेरा भएको एकतले गाईगोठ पूर्ण रुपमा जलेको र उनकै टिनको छानो, इँटा सिमेन्टको वाल, भुइँढलान भएको एकतले घर र सो घरभित्र रहेको नगद रु २ लाख , सुन ५ तोला, चाँदी ५ तोला, काठ, अन्नपात, लत्ताकपडा, भाडा वर्तन नष्ट भएका छन् भने ४ वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट बोहोराको २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।
सोही आगलागीबाट कृष्ण कार्कीको टिनको छानो, टाटीको बेरा भएको एकतले गाईगोठ पूर्ण रुपमा जलेको र उनकै टिनको छानो, इँटा सिमेन्टको वाल भएको एकतले घर सामान्य जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै गए राति १०.२५ बजेको समयमा दमक नगरपालिका वडा नं. ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर हट नं.सी फोर सेक्टर ३६९ बस्ने ३० वर्षीया गीतामाया सुब्बाको टिनको छानो र बासको टाटी बेरा भएको एकतले खाली घरमा अचानक आगलागी भई पूर्ण रुपमा जलेर नष्ट हुँदा एक लाख बराबरको क्षति भएको छ ।
त्यस्तै आज बिहान २ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.१ पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईँको दुई तले पक्की घरको भुइँतलामा रहेको स्टोर रुममा अचानक आगलागी भई घरभित्र रहेका लत्ताकपडा र दराजहरू जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । तिहारका बेलामा आगलागीका घटना बढेको डीएसपी रिजालले जानकारी दिए ।