भद्रपुर नगरपालिकाद्वारा विद्युतीय चुलो वितरण सुरु
भद्रपुर । भद्रपुर नगरपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेको छ । सरकारले वैकल्पिक ऊर्जा शीर्षकमा पठाएको बजेटबाट नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण सुरु गरेको हो ।
नगरपालिकाले १ नम्बर वडा कार्यालयबाट चुलो वितरणको शुभारम्भ गरेको छ । वडा कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच १६ जनालाई विद्युतीय चुलो वितरण गरिएको जनाइएको छ । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले वितरण गरेका थिए ।
एकल महिला, सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने लगायतको नीति बनाएर वैकल्पिक ऊर्जा बापत यस पटक विद्युतीय चुलो वितरण सुरु गरिएको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी दिए । नगर क्षेत्रका १० वटै वडाबाट १६/१६ जनाको दरले १६० जनालाई विद्युतीय चुलो वितरण गर्न लागिएको उनले बताए । विद्युतीय चुलोको लागि सरकारले ६ लाख रुपैयाँ बजेट पठाएको छ ।