भद्रपुरमा २ हजार ७० जना भूमिहीन, निस्सा वितरण सुरु
झापा । राष्ट्रिय भूमि आयोगले भद्रपुर नगर क्षेत्रका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई नाप नक्साको निस्सा वितरण सुरु गरेको छ।
भद्रपुर नगरपालिकामार्फत संकलन गरिएको भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये आयोगले आइतबार पहिलो चरणमा वडा नम्बर १ र २ का २४५ जनालाई नाप नक्साको निस्सा वितरण गरेको हो।
वडा कार्यालयहरूमा आयोजित कार्यक्रमका बीच वडा नम्बर १ का ४० जना भूमिहीन सुकुम्वासी, १४ जना भूमिहीन दलित र ४२ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ। त्यस्तै वडा नम्बर २ का १८ जना भूमिहीन सुकुम्वासी र १३१ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।
उनीहरूलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल लगायतले निस्सा वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष निरौलाले नगरपालिकामार्फत आयोगमा दर्ता भएका परिवारको धनी पुर्जा प्राप्त गर्ने बाटो खुलेको बताए। आयोगले भूमिहीनहरूलाई लालपुर्जा दिने पहिलो खुड्किला पार गरेको बताउँदै उनले भने, ‘आयोग खारेज भएपनि अब निस्सा वितरण गरिएको प्रक्रिया खारेज हुँदैन।’ निस्सा पाउनेहरूको हकमा अब कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा वितरण गरिने उनको भनाइ छ।
आयोगबाट निस्सा पाएपछि उनीहरू हर्षित देखिएका थिए। नगर क्षेत्रका २ हजार ७० परिवारले लालपुर्जाका लागि नगरपालिकामा निवेदन दर्ता गराएका छन्। जसमा भूमिहीन सुकुम्वासी ९०२, दलित भूमिहीन ९१ र अव्यवस्थित बसोबासी १ हजार २८ जना रहेको नगरपालिकाका सूचना अधिकारी नेत्र पोखरेलले जानकारी दिए।
२ हजार ७० मध्ये ४९ जनाको निवेदन अपूर्ण रहेको उनको भनाइ छ। करिब २९ सय परिवारले सम्बन्धित वडाहरूमा निवेदन दर्ता गराए पनि मापदण्ड नपुगेकाहरूलाई हटाइएको उनले बताए।