२०८३ असार ११ गते , विहीबार

झापामा नमूना संसद्को अभ्यास : युवा सांसदले उठाए हात्ती आतङ्कदेखि लागु औषधसहितका दर्जनौँ मुद्दा

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
झापामा नमूना संसद्को अभ्यास : युवा सांसदले उठाए हात्ती आतङ्कदेखि लागु औषधसहितका दर्जनौँ मुद्दा

बिर्तामोड । नमूना संसद्मा झापाका युवा सांसदहरूले जिल्लाका समस्याहरू उठाएका छन् । संघीय संसद् सचिवालयको आयोजनामा भएको नमूना संसद्को अभ्यासमा युवा सांसदहरूले जिल्लाका मुद्दाहरूसँगै समाजमा रहेका साझा विकृतिहरू उठाएका हुन् ।

संघीय संसद्ले कात्तिक १४ गतेदेखि झापाको बिर्तामोडमा २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई संसद्को अभ्यास गराएको थियो । तीन दिनसम्म अभ्यास गरेका विद्यार्थीहरूले शुक्रवार नमूना संसद्को अभ्यासलाई प्रस्तुत गरेका थिए । उनीहरूले प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूसहित नमूना संसद्को प्रदर्शन गरेका हुन् ।

बिर्तामोडको सिद्धार्थ होटलमा विद्यार्थीहरूले संसद्मा हुने बजेट भाषण, नीति तथा कार्यक्रम बाहेक सबै काम कारबाही प्रस्तुत गरेका थिए । सो नमूना संसद्को सभामुख मोहनमाया माविका नवीन तिवारी र प्रधानमन्त्रीको जिम्मेवारीमा शनिश्चरे माविकी जुनु पौड्याल थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोसी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगीको अगाडि राखेर नमूना युवा संसद्का सांसदहरूले संसद्को अभ्यास गरेका थिए ।

नमूना संसद्मा युवा सांसदहरूले झापाको जङ्गली हात्तीको समस्या, सुपारी खेती, यौन हिंसा, खाद्य वस्तुमा भइरहेको मिसावट, बिदेसिएका युवालाई स्वदेश फिर्ता गराउने सवाल, दाइजो प्रथा, गुणस्तरीय शिक्षा, फोहोर मैला व्यवस्थापन, लागु औषध नियन्त्रण, विद्यालयमा प्राथमिक उपचार, खेल मैदान लगायतका विषयहरूमा भनाई राखेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, कांगे्रसका प्रमुख सचेतक रमेश लेखक, एमालेका सचेतक महेश बर्तौला, माओवादीकी सचेतक रुपा सोसी चौधरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, प्रतिनिधिसभा सदस्य हर्कमाया विक, अमृतलाल राजवंशी, कोशी प्रदेशका सांसदहरू छवि चुँडाल, कमला थापा मगर, गोपाल विक, बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाईँ, देवी माविको प्रअ अम्बिका श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

अधिकांश वक्ताहरूले विद्यार्थीहरूमा संसद्को अभ्यास गराएर उनीहरूलाई संसदीय काम कारबाही, कानुन निर्माण, सञ्चालन विधि बारे जानकारी गराएकोमा संघीय संसद्लाई धन्यवाद दिए । उक्त कार्यक्रमले विद्यार्थीमा राजनीतिक चेतनाको विकाससँगै संसदीय अभ्यासको ज्ञान प्राप्त भएको उनीहरूको भनाई थियो । विद्यार्थीहरूले कार्यक्रममा सहभागी हुँदा संसद्को अभ्याससँगै क्षमता विकासमा सहयोग पुगेको प्रतिक्रिया दिए ।

नमूना संसद्का युवा सांसदहरूले विषयवस्तुमा मात्रै केन्द्रित भई छोटो समयमा कुरा राखेको, आरोप प्रत्यारोप नगरेको, सभ्य ढङ्गबाट विषयहरू उठाएको, संसद् अवरुद्ध नगरेको लगायतका सन्दर्भहरू चर्चाको विषय बनेको थियो ।
सहारा नेपाल र युएनडिपीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार