२०८३ असार ११ गते , विहीबार

आधुनिक साकोसको सभामा तीन जनालाई सम्मान

sajilo news
झापा
२०८० कार्तिक १७ गते , शुक्रबार
आधुनिक साकोसको सभामा तीन जनालाई सम्मान

भद्रपुर । झापाको काँकडभिट्टामा केन्द्रीय कार्यालय रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं वार्षिक साधारण सभा अन्तरगत बिहीबार (आज) भद्रपुरस्थित सदस्य सेवा केन्द्र भद्रपुरको इकाई गत साधारण सभामा तीन जना सदस्यलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमा उत्कृष्ट ज्येष्ठ सदस्य गुणबहादुर आले मगर, उत्कृष्ट बचतकर्ता विश्वनाथ मण्डल, उत्कृष्ट ऋणीतर्फ इन्द्रकुमारी राई रहेका छन् । सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि आधुनिक बचत तथा ऋण सहकारी संस्था लिं का निवर्तमान अध्यक्ष तथा सल्लाहकार समिति संयोजक अंगतबहादुर थापा, विशेष अतिथि संस्थाका सल्लाहकार समिति सदस्य मेदनीप्रसाद खरेल, संस्थाका अध्यक्ष कमल थापालगायतले सम्मान प्रदान गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि अंगतबहादुर थापाले समाज रूपान्तरणमा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको चर्चा गर्दै साधारण सभामा आउने जाने मात्र नभई संस्थाको समग्र अवस्थाका बारेमा सदस्य जानकार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि खरेलले आफ्नो मन्तव्यमा सबै सदस्यले संस्थाप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । उनले सबै सहकारी खराब नहुने बताउँदै खराब सोच र उद्देश्यले सञ्चालन भएका सहकारीहरूले मात्र गलत गर्ने गरेको बताए ।

कार्यक्रममा संस्थाका कमल थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाको आम्दानी वृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित हुने अवगत गराए ।

संस्थाका लेखा समिति सदस्य केशवप्रसाद कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सङ्कटको जटिल अवस्थामा पनि संस्था लक्ष्य प्राप्तितर्फ अग्रसर हुँदै गएको जानकारी दिए । उनले आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष १ करोड ४२ लाख ६९ हजार ८ सय ६७ रुपैयाँ पुगेको बताए ।

संस्थाको वार्षिक कार्यक्रम तथा बजेट व्यवस्थापक पारस ओलीले प्रस्तुत गरेका थिए । संस्थाका भद्रपुर सेवा केन्द्र प्रमुख प्रकाश आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य महतलाल राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार