शहीद परिवारलाई सहयोग गरेर चिमरियाले मनाए जन्मोत्सव
सामाजिक व्यक्तित्व राजन चिमरियाले यस वर्ष पनि सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । नेपाल डेरी एसोसिएसनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) मेचीनगरका नगर अध्यक्ष रहेका चिमरियाले शहीद परिवारलाई गाई र मृतकका परिवारलाई नगद सहयोग गरेर ५० औं जन्मोत्सव मनाएका हुन् ।
चिमरियाले बिहीबार पर्न गएको जन्मोत्सवका अवसरमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएको शहीद प्रेम उप्रेतीको परिवारलाई ६५ हजार रुपैयाँ बराबरको उन्नत जातको गाई र शहीद उप्रेतीका पिता गङ्गा उप्रेती बिरामी रहेकाले औषधिका लागि नगद ५ हजार एकसे रुपैयाँ प्रदान गरेका थिए । शहीद प्रेम उप्रेतीको २०५८ सालमा तेह्रथुमको बगाले घटनामा मृत्यु भएको थियो । रीतिका डेरी उद्योगका सञ्चालकसमेत रहेका चिमरियाले शहीद परिवारलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले जन्मोत्सवमा गाई प्रदान गरेको बताए । सोही कार्यक्रममा आफ्नो उद्योगबाट उत्पादित सामग्रीसमेत शहीद प्रेमका पिता गङ्गा र आमा लक्षिमादेबी उप्रेतीलाई प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी (मोहनबा), पार्टीका मेचीनगर नगर सचिव ज्ञानेन्द्र घिमिरे, झापा जिल्ला सदस्य खगेन्द्र सिग्देल, पार्टीका मेचीनगर १२ का अध्यक्ष पदम सुनुवार, मेचीनगर–१३ का अध्यक्ष पुरुषोत्तम सिग्देललगायतको उपस्थिति रहेको थियो । फजुल खर्चलाई कटाएर चिमरियाले जन्मदिन र वैवाहिक वर्षगाँठमा गरी दुई पटक सामाजिक कार्य गर्दै आएका छन् ।