लागूऔषध र देह व्यापार : झापामा १७ जना पक्राउ
बिर्तामोड । झापाको बिर्तामोडमा लागू औषध र देह व्यापारमा संलग्न भएको आरोपमा बालक र किशोरकिशोरी गरी १७ जनालाई स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका छन् ।
लागू औषध सेवन गरेर रातदिन होहल्ला गर्ने, सार्वजनिक स्थलमा अश्लील गतिविधि गर्ने गरेपछि समाज सुधार अभियानअन्तर्गत बिर्तामोड–५ सुगम टोल गणपति मार्गका टोलवासीहरूले लागू औषध प्रयोगकर्ता, देह व्यापारमा संलग्नहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको स्थानीय विपिन बजगाईँले बताए ।
सोमबार बिहान ७ बजे टोलका सचेत नागरिक, जनप्रतिनिधि र प्रहरीको सहयोगमा स्थानीयहरूले सुगम पेट्रोल पम्प पूर्वको खाली ठाउँ र बसपार्क दक्षिणको खाली ठाउँको झाडीबाट उनीहरूलाई पक्राउ गरेका थिए ।
बिर्तामोड नगर क्षेत्र लागू औषधको रेड जोन नै भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । बिर्तामोड नगरलाई लागू औषध दुर्व्यसनमुक्त समाज बनाउने नारा स्थानीय सरकार र प्रहरीले हरेक वर्ष बनाउने गरे पनि कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसक्दा दिन प्रतिदिन लागू औषध सेवनकर्ता र देह व्यापार गर्ने गराउनेहरूको सङ्ख्या बिर्तामोडमा बढेको स्थानीय लीला खड्काले बताइन् ।
बिर्तामोड ५ लागू औषध र देह व्यापारको केन्द्रबिन्दु नै बनेको देखिएको छ । नेपालको पहाडी जिल्ला, पश्चिम जुम्ला घर बताउनेहरू यार्चागुम्बा बेच्ने व्यक्ति बनेर लागूपदार्थ कारोबारमा सक्रिय बन्दै आएको सूचना पाएको र त्यस्ता कानुनविपरित कार्य गर्नेहरूलाई बिर्तामोडबाट विस्थापित गराई सभ्य र शान्त बिर्तामोड बनाउन नागरिक समाज अग्रसर भएको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईँले बताए ।स्थानीय सरकारको तर्फबाट बिर्तामोडलाई लागू औषध मुक्त बनाउन विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गर्ने वडाध्यक्ष प्रसाईँले जानकारी दिए ।
पक्राउ परेकाहरूमध्ये चार जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने बाँकी १३ जनालाई बिर्तामोड- ५ स्थित क्षितिज महिला सुधार गृहमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए ।