२०८१ श्रावण ३ गते , विहीबार

हातपात र दुर्व्यवहारले पीडित डाक्टर 

sajilo news
झापा
२०८० आश्विन १३ गते , शनिबार
हातपात र दुर्व्यवहारले पीडित डाक्टर 

जिनत शेख । झापा 

डाक्टर अर्थात चिकित्सक माथि हातपात र दुर्व्यवहार नेपालको सन्दर्भमा सामान्य बन्दै गएको छ। हाम्रो जीवनमा जति बोटबिरुवाको आवश्यकता छ त्यति नै चिकित्सकको पनि छ। एउटा बिरुवा रुख नहुन्जेलसम्म हामी जसरी संरक्षण र हेरचाह गर्छौँ ठिक त्यसैगरी एक चिकित्सकको परिवारले आफ्नो हरेक सम्पत्ति चिकित्सक नबनुन्जेल सम्म खर्च गर्छन्, र एक सामान्य मानिसबाट चिकित्सक बनाउँछन्। र जब त्यो सामान्य मान्छे चिकित्सक भइसकेपछि अस्पतालमा आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्छन्, अनि गल्ती भए नभए दुर्व्यवहारको पीडित हुन पुग्छन्। चिकित्सक बन्नमा केवल करोडौँको लगानी मात्र नभई मानिस, शारीरिक र बौद्धिक लगानीको पनि उत्तिकै महत्त्व रहेको हुन्छ। 

जबकि एउटा रुखले जसरी कयौँ मान्छेलाई विना भेदभाव घाम र पानीबाट बच्न सहारा दिन्छ ठिक त्यसरी नै एक चिकित्सकले बिना भेदभाव रातदिन कयौँ मान्छेलाई नयाँ जीवन दिन्छन्, रोगी बाट निरोगी नहुन्जेलसम्म सहारा बन्छन्, कृत्रिम विष खाएर अस्पताल गएको मान्छेलाई औषधि उपचार सँगसँगै प्रोत्साहनको अमृतले पनि निको पार्छन्।  तर, पनि किन सेवाग्राहीहरू यति स्वार्थी, निर्दयी र अमानव ?

चिकित्सकको पनि परिवार हुन्छ चिकित्सकको लागि पनि चाडपर्व उत्तिकै महत्त्वपूर्ण छ । जति कि हामी आमजनताको लागि तर पनि उनीहरू सेवाग्राहीहरूको सेवामा यति व्यस्त हुन्छन् कि घर परिवार चाडपर्व सबै अस्पतालमै मनाउन बाध्य हुन्छन्। हामी आमजनताको जस्तो सहज कहाँ हुन्छ र चिकित्सकको जीवन। 

हाम्रो देशमा विभिन्न क्षेत्रसँग सम्बन्धित नियम र कानुन छ तर पूर्ण रूपमा लागु भएको छैन। नेपालमा सेवा प्राप्त गर्ने आम जनताको हकमा जनस्वास्थ्य सेवा नियमावली ऐन, २०७७ र स्वास्थ्य सेवा‌ प्रदान गर्ने व्यक्ति र संस्थाको हकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ निर्माण गरिएको छ। 

स्वास्थ्य सेवा प्राप्त सेवाग्राहीको हकमा रहेको जनस्वास्थ्य सेवा नियमावली ऐन, २०७७ को परिच्छेद-९ (विविध) को दफा २९ (उजुरी गर्न सक्ने) को उपदफा १ मा उल्लेख भए बमोजिम ऐनको दफा १८ बमोजिम उपचारको क्रममा कुनै बिरामीको स्वास्थ्यमा थप जटिलता देखा परेमा वा उपचारको प्रक्रियामा निजलाई कुनै आशङ्का भएमा सोही ब्यहोरा खुलाई देहायका पदाधिकारी समक्ष बिरामी वा संरक्षक वा निजलाई उपचार गराउन ल्याउने व्यक्तिले लिखित रुपमा उजुरी गर्न सक्नेछ:-

क) स्वास्थ्य संस्थाको प्रमुख बाहेकका अन्य स्वास्थ्यकर्मीले उपचार गरेको भए सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुख समक्ष,

(ख) स्वास्थ्य संस्थाको प्रमुखले उपचार गरेको भए सो स्वास्थ्य संस्था भन्दा माथिल्लो स्वास्थ्य संस्थाको प्रमुख समक्ष।

अर्थात् यदि आदरणीय सेवाग्राहीहरू, अस्पतालमा कुनै आपत्ति वा आशङ्का भएमा सिधै उजुरी गर्नुस् तर हाम्रै सेवामा खटिएका चिकित्सकहरू माथि हातपात दुर्व्यवहार नगर्नुस्। सुरक्षित सेवा प्राप्त गर्नु सेवाग्राहीको अधिकार हो भने सुरक्षित सेवा प्रदान गर्ने उनीहरूको पनि अधिकार हो। चिकित्सकलाई हाम्रो होइन हामीलाई चिकित्सकको आवश्यकता पर्दछ। सकेसम्म सम्मान गर्न सिकौँ अपमान उसैले गर्छ जो आफैँमा अपमानित छ। 

साथै सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको हकमा रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३ (हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने) को खण्ड [ग] (स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याउन) बमोजिमको कसुर गरेमा दफा १५ को उपदफा २ को खण्ड (ख) बमोजिम तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। 

हाम्रो देशमा अहिलेको चिकित्सकको अवस्था हेरेर चिकित्सक पढ्न लागेका विद्यार्थीहरूले साझा प्रवेश परीक्षा (Common Entrance Examination - CEE) को परिणाम पछि बिदेसिने र बाँकी रहेका विद्यार्थीहरू स्नातक पछि बिदेसिने मनोशय बनाइसकेका छन्। ‌यस्तै भइरहने हो भने कोरोना कालमा अक्सिजनको हाहाकार मच्चे जस्तै अब आउने दिनमा नेपालमा चिकित्सकको‌ हाहाकार अवश्य हुनेछ।

सम्बन्धित समाचार