सरकारका कारण निर्माण व्यवसायी पीडामा
बिर्तामोड । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले आम निर्माण व्यवसायी जर्जर अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित निर्माण व्यवसायी संघ झापाको १५ औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले विभिन्न कारणले देशभरका निर्माण व्यवसायी पीडामा रहेको बताए । उनले सरकारी कामहरूको समयमै भुक्तानी नहुने र विभिन्न ऐन–कानूनका बुँदाहरू केलाएर व्यवसायीहरूलाई दुःख दिइरहेका कारणबाट व्यवसायीहरू बढी प्रताडित भइरहेको उल्लेख गरे । धेरै निर्माण व्यवसायीले अझै पनि सरकारी कामहरूको धेरै पुरानो भुक्तानी लिन नसकिइरहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष लामाले चाँडो भन्दा चाँडो सम्बन्धित निकायहरूले भुक्तानी नदिए निर्माण व्यवसायीहरू आर्थिक रुपमा थप संकटमा पर्न सक्ने बताए ।
निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा आयोजित साधारण सभामा वरिष्ठ उपाध्यक्ष लामाले पछिल्लो पटक विभिन्न मागहरू राखेर महासंघको नेतृत्वमा व्यवसायीहरूले गरेको आन्दोलनले एउटा सकारात्मक परिणाम ल्याउने आशा पलाएको उल्लेख गरे । उनले आन्दोलनपछि सरकारसँगको वार्ताले परिणाम सुखद आउनेमा आशावादी रहेको बताए ।
केही दिनपछि एउटा निर्णय आउँदैछ’, उनले भने– ‘त्यो आम निर्माण व्यवसायीको पक्षमा हुनेछ भन्ने विश्वास छ ।’ उनले वार्तामा भएको सहमति अनुसार निर्णय नआए महासंघ फेरि आन्दोलनमा जानुको विकल्प नरहने उल्लेख गर्दै त्यो आन्दोलन अझ सशक्त हुने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले स्वागत र महासचिव पुष्पराज निरौलाले सञ्चालन गरेको समारोहमा महासंघका महासचिव रोशन दाहालले महासंघले सञ्चालन गर्दै आएका गतिविधि जानकारी गराउँदै विभिन्न तालिमहरूमार्फत व्यवसायीहरूलाई दक्ष बनाउन महासंघ लागिपरेको जानकारी दिए ।
महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारी, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश कुमार मिश्र, कोशी प्रदेश अध्यक्ष जनसेवक भण्डारी, संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार गणेशबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राख्दै निर्माण व्यवसायीहरू पीडामा रहेकोले सामूहिक हकहितका लागि सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष मिलन बस्नेतले अध्यक्षको मन्तव्य राख्दै झापा संघ सदस्यहरूको समस्या समाधानमा निरन्तर लागिपरेको बताउँदै व्यवसायीहरूलाई समान रुपमा ठेक्का दिलाउने विषयमा संघले सहजीकरण गर्दै आएको उल्लेख गरे ।
सो अवसरमा संघका सदस्य मेचीनगरका निर्माण व्यवसायी नयन बराललाई विशेष सम्मान गरिएको थियो । गत फागुनमा राष्ट्रिय निर्माण दिवसको सन्दर्भमा महासंघबाट कोशी प्रदेशको तर्फबाट ‘घ’ वर्गमा बरालले सञ्चालन गरेको उत्कृष्ट निर्माण सेवाले सर्वोत्कृष्ट अवार्ड पाएको सम्मानमा संघले बराललाई विशेष सम्मान गरेको महासचिव निरौलाले जानकारी दिए । यसैगरी, व्यवसायी निमेषकुमार मित्तललाई कदरपत्र प्रदान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि लामाले सम्मानपत्र प्रदान गरेका थिए ।। साधारण सभाको बन्द सत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।