कमल गाउँपालिकाका तीन ‘ब्लयाक स्पट’मा सीसी क्यामेरा जडान गरिने
कमल गाउँपालिका भित्र पर्ने तीन ‘ब्लयाक स्पट’मा सीसी क्यामेरा जडानका लागि तयारी भएको छ । कमल गाउँपालिका अन्तर्गत पर्ने सितापुरी, पाडाजुँगी र लभडाँडा छेउ (रतुवा पुल पूर्व) गरी तीन स्थानमा आवश्यक निगरानी बढाउन र दुर्घटना भई हालेमा विवरण यकिन गर्न समेत मद्दत पुर्याउने उद्देश्यले सीसी क्यामेरा जडानको तयारी गरिएको हो । ट्राफिक प्रहरीको तथ्याङ्कमा सवारी दुर्घटना अधिक मात्रामा हुने गरेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो क्षेत्र पर्छ ।
कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टिमले स्थलगत निरीक्षण गरी उपयुक्त स्थल यकिन गरेको छन् । गाउँपालिका अध्यक्ष राईले केर्खा र रिजाल पेट्रोल पम्प एरियामा निगरानीका लागि यसअघि नै सीसि क्यामेरा जडान भइसकेकाले ट्राफिक प्रहरीसँगको समन्वयमा थप तीन स्थानमा सीसी क्यामेरा जडान गर्न लागिएको बताए ।