नारी सञ्चार गृहमा शारदाले गरिन् आर्थिक सहयोग
बिर्तामोड । झापाका महिला पत्रकारहरूको छाता संस्था नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष वृद्धिका लागि सामाजिक व्यक्तित्व शारदा रिजालले सहयोग प्रदान गरेकी छन् ।
सामाजिक अभियन्ता तथा राजनीतिक व्यक्तित्व बिर्तामोड- १ निवासी रिजालले नारी सञ्चार गृहको टिमलाई नगर पाँच हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेकी हुन् ।
२०६९ सालमा स्थापित नारी सञ्चार गृहले २०७५ सालमा महिला पत्रकारको क्षमता अभिवृद्धि, संस्थाको दिगोपना र विभिन्न क्षेत्रमा केही गरौँ भनेर उत्साहित महिलालाई प्रोत्साहन गर्ने बहुउद्देश्यीय लक्ष्य राखेर अक्षयकोष स्थापना गरेको हो । ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर सुरु गरिएको कोषमा हाल ३६ लाख रुपैयाँ सङ्कलन भएको अक्षयकोष वृद्धि तथा परिचालन समितिका संयोजक जोस्ना श्रेष्ठले जानकारी दिइन् ।