बिर्तामोडमा डकर्मी सीप अभिवृद्धि तालिम सुरु
बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको बिहीबार नगर प्रमुख पवित्रा महतारा प्रसाईँले उद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईँले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताइन् । कामको महत्त्व नबुझेर देश पछि परेको गुनासो गर्दै उनले महत्त्व दिएर सिक्न सहभागी सबैलाई आग्रह गरिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरू तालिम प्राप्त हुनु पर्ने धारणा राखे। उनले सीप सिकेपछि जिम्मेवारी लिएका विषयमा समेत सूक्ष्म तरिकाले हेर्न आग्रह गरे । कार्यक्रममा नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरूलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गरे ।
तालिममा विशेषगरि भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिने छ। ईन्क्लुसिभ कन्स्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभा हलमा तालिम प्रदान गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले जानकारी दिए । ६ दिनसम्म सञ्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् । कार्यक्रममा वडा नम्बर १ का सदस्य योगचन्द्र आङबोहाङ्ग, रोजगार संयोजक होमनाथ भट्टराई र प्राविधिक सहायक लोचन सङ्ग्रौलाको पनि उपस्थिति रहेको थियो ।