काँकडभिट्टा बसपार्क मर्मत सम्भार गरिने

मेचीनगर । नेपालको पूर्वी नाका स्थित काँकडभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जीर्ण हुँदै गइरहेको काँकडभिट्टा बसपार्क पुनः मर्मत सम्भार हुने भएको हो ।
मंगलबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा शहरी विकासका इन्जिनियर सहितको टोलीले काँकडभिट्टा बसपार्कको गरी विनियोजित एक करोड बजेटबाट प्राथमिकताको आधारमा पुनः मर्मत सम्भार गरिने भएको छ ।
बसपार्कको स्थलगत अनुगमन पश्चात् आज नगर प्रमुख बुढाथोकी सहित उपप्रमुख मीना पोख्रेल उप्रेती, मेची नगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू भविन्द्र सुब्बा, ध्रुवकुमार राई र सीमा रसाइली, शहरी विकासका इन्जिनियर मिक्सेन राई, डेनिस भट्टराई, बसपार्क व्यवस्था समिति अध्यक्ष डिल्लीराम घिमिरे, सदस्यहरू माधव अर्याल, सुरेन्द्र बुढाथोकी, बिष्णुकुमार श्रेष्ठ, दुर्गाराज अर्याल र किरणकुमार तामाङलगायतको सरोकारवालाहरूसंगको उपस्थितिमा भत्किएको ठाउँमा पुनःनिर्माण गर्ने, आवश्यकताका आधारमा यात्रु शाखा स्थापना गर्ने, बसपार्कमा पानी निकासी नहुँदा समस्या हुने गरेको हुँदा त्यसलाई बनाउने लगायतको विषयमा छलफल गरिएको थियो ।नगरप्रमुख बुढाथोकीले अहिले बजेट छुट्ट्याइएको रकमले बसपार्क पुनः मर्मत सम्भार गरिने जानकारी दिए । साथै उनले मेचीनगरको गौरवको योजनाका रूपमा अगाडि सारिएको बहुतले टर्मिनल बसपार्क बनाउन नगरपालिका लागि परिरहेको बताए । उनले अहिले डिपिआर तयार भइरहेको बताए ।