अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल विद्या मन्दिरकी छात्रा खन्जना प्रथम
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल विद्या मन्दिरकी छात्रा खन्जना राजवंशी प्रथम भएकी हुन् ।
त्यस्तै प्रतियोगितामा गौरादह नगर नगरपालिकाको जनता माविकी छात्रा लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए । प्रतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जेइविएसकी छात्रा जिज्ञासा श्रेष्ठ र सान्त्वना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए । उनीहरूले क्रमशः नगद १० हजार, ८ हजार, ६ हजार र सान्त्वना ३ /३ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ।
विजेतालाई र प्रतियोगीहरूलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याप्सन अध्यक्ष राम सुहाङ्गलगायत अतिथिहरूले प्रमाण–पत्र प्रदान गरेका थिए । कार्यक्रममा ११ पालिकाका १९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रम जिल्ला बाल सञ्जाल झापाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो ।