झापामा १२३ ग्राम ब्राउन सुगरसहित फेरि एक भारतीय नागरिक पक्राउ
भारतबाट आएर नेपालमा प्रतिबन्धित लागू औषधको कारोबार गर्ने क्रममा फेरि एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य किसनगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने अन्दाजी २१ वर्षीय लाल मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिवार साँझ ६ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा रहेको ताप्लेजुङ फक्तालुङ होटल अगाडी पुगेका थिए । प्रहरी टोली त्यहाँ पुगेपछि शङ्कास्पद अवस्थामा रहेको मानिस भागेर सोही होटलको दोस्रो तलामा पुगेका थिए ।
त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लास्टिकमा पोको पारी राखेको १२३ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।