२०८० आश्विन ९ गते , मंगलबार

राष्ट्रिय बाल दिवस : कनकाईमा विविध कार्यक्रम गरी मनाइयो

sajilo news
झापा
२०८० भाद्र २९ गते , शुक्रबार
राष्ट्रिय बाल दिवस : कनकाईमा विविध कार्यक्रम गरी मनाइयो

(चन्द्र बस्नेत) कनकाई । आज ५९ औँ राष्ट्रिय बाल दिवस झापासहित देशभर मनाएको छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउँदै आएको छ ।  सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बाल अधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

यसैबीच बाल दिवसको अवसरमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न  स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । 

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र पारिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उनले बताए ।  उनले बालबालिकाका लागि लगानी वृद्धि गर्दै जाने प्रतिबद्धता जनाए । नगर प्रमुख पोखरेलले  बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्धन गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न आवश्यक औलाए  । 

यता राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा झापाको कनकाई नगरपालिकामा पनि अन्तरक्रिया तथा मावि स्तरीय नृत्य प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । “सुनिश्चित बालमैत्री बानी ,व्यवहार,सुखी र समृद्ध कनकाईको आधार “ नाराका साथ  कनकाई बाल सञ्जालको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा राख्दै सो कार्यक्रम सम्पन्न गरेको हो ।

कनकाई ३ स्थित सुरुङ्गा जेसिजको  हलमा कनकाई नगर बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख शिवाकोटीले  केही बालबालिकाहरू अझै पनि आफ्नो बाल अधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको बताइन्। बाल यौन दुर्व्यवहार, बालबालिका विरुद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाई छ ।कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकाले  बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल ,शिक्षा शाखा प्रमुख पीताम्बर गौतम लगायतले आआफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा मावि स्तरीय नृत्य प्रतियोगिता अन्तर्गत नगरका १३ निजी तथा सामुदायिक विद्यालय सहभागी मध्ये हरिकुल नमुना विद्यालय सुरुङ्गा प्रथम, मेरिगोल्ड अङ्ग्रेजी विद्यालय सुरुङ्गा द्वितीय तथा आदर्श विद्या मन्दिर घैलाडुब्बा तृतीय भएको नगर बाल सञ्जालका अध्यक्ष मिश्रले जानकारी दिए ।कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र उपलब्ध गराएको थियो । कार्यक्रममा विभिन्न  विद्यालयका विद्यार्थीद्वारा विज्ञानसहित विभिन्न कला प्रदर्शन गरिएको थियो ।कनकाई नगर बाल सञ्जालका सदस्य सुजल मैनालीले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको पहिलो सत्र नगर बाल सञ्जालका  उपाध्यक्ष  अश्लेता कँडेल र सह सचिव प्रजवल आचार्यले सञ्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन सचिव अभिषेक कँडेल र सदस्य रुजा कँडेलले संयुक्त रुपमा गरेका थिए ।

उता कनकाई ८ नम्बर वडा कार्यालय र सूर्य ज्योति वडा बाल सञ्जालको संयुक्त आयोजनामा अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न गरेको छ। वडा अध्यक्ष लीलाबहादुर कटुवालको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा सहभागी विद्यालयहरूमध्ये  माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसन,  पाथीभरा एकाडेमी र हिमाली माध्यमिक विद्यालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानको नतिजा प्राप्त गर्न सफल भएका छन्  । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी वडा अध्यक्ष कटुवाल वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार