कर्तव्य ज्यान मुद्दाका मेचीनगरका खरेल ११ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १० निवासी ५६ वर्षीय नरेन्द्र भन्ने देवेन्द्र खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई पूर्ण कालिन दस्ता झापाद्वारा मङ्गलवार पक्राउ गरिएको हो । कृष्णकुमार राईको जाहेरीले कर्तव्य ज्यान मुद्दामा खरेललाई पाँचथर जिल्ला अदालतबाट २०६९ असोज १८ गते भएको फैसला अनुसार २० वर्ष कैद सजाय सुनाइएको थियो ।
त्यस्तै उच्च अदालत विराटनगर इलाम इजलासले २०७८ बैशाख १३ गते सोही फैसलालाई सदर गर्ने फैसला गरी पाँचथर जिल्ला अदालतबाट झापा जिल्ला अदालतमा लगत प्राप्त भई झापा जिल्ला अदालतको लगत नम्बर २७१४ मा लगत कायम भएका खरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनलाई प्रतिवेदनका साथ झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी रिजालले बताए ।