२०८१ बैशाख २१ गते , शुक्रबार

कचनकवलमा शिक्षक छनौटको परीक्षा स्थगित, छानबिन हुँदै

sajilo news
पार्थ मण्डल
२०८० भाद्र १३ गते , बुधबार
कचनकवलमा शिक्षक छनौटको परीक्षा स्थगित, छानबिन हुँदै

झापा । कचनकवल गाउँपालिकाले आधारभूत तह (निजी) शिक्षक छनौटको लिखित परीक्षा स्थगित गरेको छ । गाउँपालिकाले मंगलबार लिएको पहिलो पत्र वस्तुगततर्फको परीक्षाको ‘उत्तर’ एक दिनअघि नै भेटिएपछि शिक्षक छनौट परीक्षाको बारेमा प्रश्न उठेको थियो ।  परीक्षार्थीले ती ‘उत्तर’ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बहस समेत सुरु भएको छ । सो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी कचनकवलले बुधबार गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई ज्ञापनपत्र समेत बुझाइसकेको छ ।  
शिक्षक छनौट परीक्षाको बारेमा सवाल उठेसँगै घटनाको सत्यतथ्य छानबिनका लागि बुधवार लिने भनिएको विषयगततर्फको परीक्षा स्थगन गरिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए ।  ‘परीक्षाको बारेमा विभिन्न कुरा बाहिर आएपछि त्यसबारे परीक्षा समितिलाई बोलाएर तत्काल छलफल गरेका थियौँ,’ अध्यक्ष राजवंशीले भने, ‘घटनाको सत्यतथ्य बुझ्न परीक्षा केही दिनलाई सारेका छौँ, प्रमाणसहित कुरा आएको खण्डमा लिइएको परीक्षा रद्द हुन्छ ।’ 
गाउँपालिकाले मंगलबार लिएको परीक्षामा ३९ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १५ जना विषयगत परीक्षाका लागि छनौट भएका छन् । गाउँपालिकाले छनौट भएका परीक्षार्थीको नामावली समेत सार्वजनिक गरिसकेको छ ।

होटेलमा बसेर आर्थिक लेनदेन गरी परीक्षामा सोधिने प्रश्नको ‘उत्तर’ लेखेर दिएको भन्ने कुरा प्रमाणसहित गाउँपालिकामा ल्याउनु प¥यो । ‘कसैले भनेको भरमा सामाजिक सञ्जालमा निरादर हल्ला फैलाउनु उचित होइन,’ अध्यक्ष राजवंशीले भने, ‘प्रमाणसहित आएमा सम्बन्धित व्यक्तिलाई कारबाहीसँगै पुनः परीक्षा लिन्छौँ ।’ 
एक दिन अघि उत्तर सार्वजनिक भएको कुरा बाहिर आएको सुनेको बताउँदै उनले भने, ‘उत्तर नै बाहिर आइसकेपछि परीक्षा लिने दिन किन कुरा उठेन, परीक्षार्थीले किन परीक्षा बहिष्कार गरेनन् ।’ पहिलो चरणको परीक्षा भएर परीक्षार्थीको नामावली समेत प्रकाशन भएपछि मात्र कुरा बाहिर ल्याउनु दुःखद भएको उनले बताए । 
परीक्षा सञ्चालनका लागि शिक्षा शाखा प्रमुख, प्रशासनको कर्मचारी र विषय विज्ञ समितिमा रहने व्यवस्था छ । कचनकवलको अहिलेसम्मका सबै परीक्षाहरूमा विज्ञका रुपमा डिल्ली पोखरेलले नै काम गरेको जनाइएको छ । यता विज्ञ पोखरेलले परीक्षाको ‘उत्तर चुहावट’ भएको घटना निरादर भएको बताउँछन् । ‘यो हल्ला मात्रै हो, यसमा कुनै प्रकारको त्रुटि भएको छैन,’ उनले भने । 

 
 
 

सम्बन्धित समाचार