२०८३ बैशाख ३१ गते , विहीबार

सुन्दरलाल हत्या प्रकरण : नातेदार दाजु-भाइले यसरी गरेका थिए हत्या

sajilo news
झापा
२०८० भाद्र २ गते , शनिबार
सुन्दरलाल हत्या प्रकरण : नातेदार दाजु-भाइले यसरी गरेका थिए हत्या

झापाको मेचीनगर–८ स्थित सुन्दरलाल किसानको हत्या आरोपमा दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुन्दरको हत्यामा संलग्न नातेदार मेचीनगर ८ कै ५६ वर्षीय रामजी किसान र उनका भाइ ४८ वर्षीय सुनरसी किसानलाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।

सोधपुछको क्रममा उनीहरूले गत साउन ३१ गते राति ८ बजे सुन्दरलालले मादक पदार्थ सेवन गरी आफूहरू बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेपछि सोही निहुँमा झगडा परेको र घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनीहरूले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको, घाटी, हात तथा अन्य विभिन्न भागमा चोट पुर्‍याई सुन्दरलाललाई हत्या गरेको र लासको व्यवस्थापन गर्ने क्रममा दुवै जनाले मृतकलाई कल्भर्टबाट दक्षिणतर्फ रहेको धान खेतमा घिसार्दै होली पैनीमा लगेर झाडी बुट्यानले छोपी घटनामा प्रयोग गरेको धारिलो हतियार सिकललाई लास रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा स्वीकार गरेको डीएसपी रिजालले जानकारी दिए ।

घटनापछि दुवै भारततर्फ भागेका थिए । डग स्निफिङ्ग गराउँदा घटनास्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको भएको भन्ने खुलेपछि आफन्त नातागोताहरूसँग समन्वय गरी सोधपुछको लागि उनीहरूलाई नेपाल झिकाएर नियन्त्रणमा लिइएको रिजालले बताएका छन् । सुन्दरलालको शव बिहीबार बिहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनियाँ टोलको सिमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

सम्बन्धित समाचार