२०८३ बैशाख ३१ गते , विहीबार

फेसबुक ह्याक गरी लाखौँ रकम ठग्ने पाँच जना पक्राउ

sajilo news
काठमाडौं
२०८० भाद्र १ गते , शुक्रबार
फेसबुक ह्याक गरी लाखौँ रकम ठग्ने पाँच जना पक्राउ

फेसबुक आइडी ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आइडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहण गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेच्छा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौँको बसपार्क क्षेत्रको रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ]

यो समूहले फेसबुक आइडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए । यस समूहका सीमान्त लामाले आइडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग गर्थे । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम थियो । रोहणले भने उनीहरूलाई सिम कार्ड उपलब्ध गराउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी उनीहरूले ह्याक गरेका थिए । हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सम्बन्धित समाचार