२०८३ बैशाख ३१ गते , विहीबार

मेचीनगरका सुन्दरलाई रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखायो

sajilo news
पार्थ मण्डल
२०८० भाद्र १ गते , शुक्रबार
मेचीनगरका सुन्दरलाई रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखायो

झापा । झापा मेचीनगर नगरपालिका- ८ का  ४३ वर्षीय सुन्दर किसानलाई फलामे रड प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सुन्दर पेशाले गाईगोरु किनबेचको काम गर्दै आइरहेका थिए । उनको शव आज बिहान साढे १० बजेको समयमा  मेचीनगर- ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिक पानी जमेको झारीमा फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शवको कानुनी प्रक्रिया पूरा पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । शव प्रकृति हेर्दा हत्या गरी फालिएको प्रारम्भिक अनुसन्धान देखाएको बताउँदै डीएसपी रिजालले भने, 'मृतकको टाउकोसहित शरीरका विभिन्न स्थानमा रड प्रहार गरिएको चोट पटक देखिएको छ, घटनास्थलमा रड पनि फेला परेको छ, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप कुरा खुल्छ ।'

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ । केही व्यक्तिमाथि शङ्का लागेर प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको उनले बताए । मृतक सुन्दर हिजो बुधवार साँझ ६ बजे घरबाट निस्किएका थिए ।  घरबाट निस्किएर एउटा भट्टीमा  पुगेका थिए । रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले आज बिहान ७ बजे देखेकी थिइन् । चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए । किसानको खोजीका लागि प्रहरीले सुनसरीको धरानबाट ‘ट्रयाकर डग’ समेत मगाएको थियो । ‘ट्रयाकर डग’ लगाएर जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार