झापामा एक व्यक्तिको शव झारीमा भेटियो, हत्या भएको आशङ्का
झापामा एक व्यक्तिको शङ्कास्पद मृत्यु भएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । मेचीनगर नगरपालिका–८ निवासी ४३ वर्षीय सुन्दर किसानको शव शङ्कास्पद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनको शव बिहीबार बिहान साढे ७ बजेको समयमा मेचीनगर ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झारीमा फेला परेको हो । घटनास्थलमा प्रहरीले फलामे रड फेला पारेको डीएसपी रिजालले बताए । मृतक किसान हिजो बुधवार साँझ ६ बजे घरबाट निस्किएका थिए । रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले आज बिहान ७ बजे देखेकी थिइन् ।
चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए । किसानको खोजीका लागि प्रहरीले सुनसरीको धरानबाट ‘ट्रयाकर डग’ समेत मगाएको थियो । ‘ट्रयाकर डग’ आउनुभन्दा अघि नै किसानको शव बिहान साढे १० बजे फेला परिसकेको बताउँदै डीएसपी रिजालले भने, 'घटना शङ्कास्पद छ, घटनास्थलमा रड फेला परेको छ ।' प्रहरीले ‘ट्रयाकर डग’मार्फत घटनाको अनुसन्धान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको उनको भनाई छ ।