२०८३ बैशाख ३१ गते , विहीबार

साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पती झापा कारागार चलान

sajilo news
झापा
२०८० श्रावण ३२ गते , विहीबार
साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पती झापा कारागार चलान

झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले मंगलबार गौरादह- १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विश्वकर्मा दम्पतीलाई कारागार चलान गरिसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  उनीहरूलाई कडा सुरक्षाबीच कारागार पठाइएको थियो । 

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।  प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको थियो । 

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए । पीडितहरूले उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रहरीले उनीसहित उनका श्रीमतीलाई पक्राउ गरी मुद्दा चलाएका थिए । सो ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेका छन् ।

सम्बन्धित समाचार