घरबाट हराएकी महिला सुँगुरको खोरमा गाडिएको अवस्थामा मृत फेला
तेह्रथुमको आठराई संक्रान्तिबजारस्थित डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता)को शव सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको छ ।
गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सुँगुरको खोरमा गाडिएको अवस्था शनिबार दिउँसो शव फेला परेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ । भेटिएको शवको टाउको मात्रै देखिन्छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा आएपछि शव निकाल्ने तयारी भइरहेको छ ।दमन्ताको श्रीमान् राजकुमार श्रेष्ठ साउन २४ गतेदेखि बेपत्ता छन् ।
साउन १५ गते इलाका प्रहरी कार्यालयमा श्रीमती हराएको जानकारी राजकुमार आफैले गराएका थिए । प्रहरीले हराएकी दमन्ताको खोजी कार्य सुरु गरेको केही दिनमै राजकुमारले श्रीमती झापामा आफन्तकोमा रहेको जानकारी प्रहरीलाई गराएको बताइएको छ ।दमन्ताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुशासन प्रहरीले गरिरहेको छ ।