२०८३ बैशाख ३१ गते , विहीबार

कोष हिनामिना र रुख काटेको आरोपमा सतासी सामुदायिक वनका अध्यक्षसहित चारजना पक्राउ

sajilo news
झापा
२०८० श्रावण २७ गते , शनिबार
कोष हिनामिना र रुख काटेको आरोपमा सतासी सामुदायिक वनका अध्यक्षसहित चारजना पक्राउ

बिर्तामोड । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।

सतासीधाम सामुदायिक वन उपभोक्ता समूह (सताक्षीधान –८ र माई नगरपालिका– ८) का अध्यक्ष हेम बहादुर थापा, शिक्षक समेत रहेका लेखा हेर्ने इन्द्र प्रसाईँ, कार्यालय सचिव केदार भट्टराई र चालक पदम तामाङलाई पक्राउ गरिएको वन कार्यालय इलामले जनाएको छ । उनीहरू विरुद्ध कोष हिनामिना र वनमा हानी नोक्सानी पुराएको आरोपमा वनले मुद्दा अघि बढाएको छ । आजदेखि बयान सुरु हुदैछ ।

वन कार्यालयले १ महिनाको वन रिसर्चमा १७ वटा रुख कटान गरेको प्रमाण फेला परेको छ । चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ, डिएफओ दान बहादुर श्रेष्ठले भने – अन्य पनि संलग्न हुन सक्ने सम्भावना रहेकोले त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।

डिएफओका अनुसार यो घटना अलि अगाडि कै हो । तर, सबै अनुसन्धान गरेर प्रमाण जुटाएर भर्खरै पक्राउ गरिएको छ । वनभित्र ब्लक नं. २ मा ७ थान सखुवा र १ थान चापको रुख कटान गरिएको थियो । त्यसको फेद गोलाई १० फिट छ । ब्लक नं. २ मा १५ फिट फेदगोलाई भएको १ थान करमको रुख कटान गरेको वन कार्यालयले जनाएको छ । यस्तै, ५ नं. ब्लकमा ८ वटा रुख मेलैसँग कटान गरेको फेला परेको छ । अधिकांश रुख १० देखि १४ फिट फेद गोलाई रहेको छ । टुना र फाला गरेर जम्मा ७ सय किवी रुख कटान भएको सूचना प्राप्त भएको छ ।

डिभिजन वन कार्यालयले वनको रेखदेख नभएका कारण हुने घटनामा पदाधिकारीको कमजोरी हुने औँल्याएको छ । तर, सताक्षीधाममा संलग्नता नै देखिएको छ । चालकले सिधै फर्निचरमा काठ पुराएको सम्म प्रमाण जुटेको छ, डिएफओले भने – उहाँहरूले कोषको हिनामिना र वनमा नोक्सानी पुराएकै कारण पक्राउ गरेका हौँ । शुक्रवार म्याद नै थप भइसकेको छ । उहाँहरूले समूह बाहिर लगेर काठ विक्री गरेको विल नै फेला परिसकेको छ ।

जङ्गल इलाममा, उपभोक्ता झापामा भएका वनहरूमा धेरै चुनौतीहरू भएको उनको भनाई छ । यसरी वनमा असुरक्षा बढ्दै गएको उनले बताए । सामुदायिक वनले उपभोक्ताभन्दा बाहिर विक्री गर्न नमिल्ने काठ पातलाई बाहिर विक्री गर्नु वन नियमावली २०७६ विपरीत हुने श्रेष्ठको तर्क छ । उनले अञ्जानमा भएका साना घटनाहरूलाई जरिवाना गरेर छोड्न सकिए पनि नियतवश गरिएका नियम विपरीतका घटनामा मुद्दा चल्ने जानकारी दिए ।

सम्बन्धित समाचार