२०८३ बैशाख ३१ गते , विहीबार
लागु औषधसहित दुई जना पक्राउ
मोरङको विराटनगर महानगरपालिका- १५ स्थित ढाटबाट प्रतिबन्धित लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मङ्गलवार साँझ ६ बजे लागु औषध नियन्त्रण ब्युरो विराटनगर वाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री धरान उपमहानगरपालिका-८ का २९ वर्षीय बुद्ध श्रेष्ठ र सोही ठाउँका २३ वर्षीय राकेश प्रधानलाई शङ्कास्पद अवस्थामा फेला पारि चेकजाँच गर्दा उनीहरूको साथबाट लुपिजेसीक, फेनारागन, एभिल र डाइजेपाम गरी जम्मा ८४ एम्पुल लागु औषध बरामद गरेको थियो । लागु औषध सहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।