कचनकवल नाकामा फेरि तस्करी मौलायो, सशस्त्रद्वारा १२ बोरा सुर्ती धरान जाने बसबाट बरामद
दक्षिणी झापाको कचनकवल नाकाबाट फेरि तस्करी गतिविधि सुरु भएको छ । केही समयका लागि रोकिएको तस्करी पुनः मौलाउँदा कारोबारी र व्यापारी मालामाल भएको स्थानीय बताउँछन् ।
यसैक्रममा सशस्त्रले प्रहरीले सोही नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्राएको १२ बोरा सुर्ती बरामद गरेको छ। पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले कचनकवल- ६ स्थित बनियानी चोकबाट बरामद गरेको हो।
पथरिया बगानबाट आउँदै गरेको बुलेट नामक रातो बसलाई बिहान करिब साढे ५ बजे चेकजाँच गर्दा बेवारिसे अवस्थामा बसभित्र राखिएको १२ बोरा अर्थात् २ लाखको सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्रले जनाएको छ । बरामद गरिएको बोरामा भारतीय ब्रान्डका बादशाह सुर्ती रहेको छ ।
बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ ।