२०८१ बैशाख ३ गते , सोमबार

कथा : सत्यनिष्ठा र त्यागको एउटा कठोर परीक्षा

sajilo news
रमेश ढकाल
२०८० श्रावण १७ गते , बुधबार
कथा : सत्यनिष्ठा र त्यागको एउटा कठोर परीक्षा

एक समयको कुरा हो, स्वर्गमा देवराज इन्द्र, महर्षि विश्वामित्र, गुरु वशिष्ठ लगायत अन्य थुप्रै देवता तथा ऋृषिहरु बसेर अहिलेको समयमा सबै भन्दा त्यागी, दानी र सत्यवादी को हुन सक्ला भन्ने विषयमाचर्चा गर्दै गरेका हुन्छन् । गुरु वशिष्ठ भन्छन्, मेरो विचारमा पृथ्वीमा राजा हरिश्चन्द्र हुन सक्छन् । गुरु वशिष्ठका कुरा सुनेर विश्वामित्र भन्छन्, मैले पनि लामो समयबाट पृथ्वीलाई नियाली राखेको छु, तर यस्तो व्यक्ति पृथ्वीमा कोही हुन सक्ला जस्तो मलाई भने लागेको छैन । यो सुनेर, गुरु वशिष्ठले भने, हेर्नुस् म सत्य भन्दै छु । यदि तपाईँलाई मेरो विश्वास लाग्दैन भने, हामी सबैका तर्फबाट तपाईँ स्वयम् पृथ्वीमा गएर राजा हरिश्चन्द्रको परीक्षा लिन सक्नु हुन्छ ।    

गुरु वशिष्ठका कुराले महर्षि विश्वामित्र साँच्चिकै पृथ्वीमा ओर्लन्छन् । उनले राजा हरिश्चन्द्रलाई एउटा बनमा भेट्छन् । विश्वामित्र एउटा साधारण मुनिको भेष धारण गरेर,  हरिश्चन्द्र सामु प्रकट हुन्छन् । ऋषिलाई देखेर राजा हरिश्चन्द्रले भने मुनिवर म तपाईँलाई के सहयोग गरौँ ?विश्वामित्रले भने, राजन अहिले त मलाई तिम्रो कुनै सहयोगको आवश्यकता छैन, तर म एउटा ठुलो यज्ञ गर्ने सोच्दै छु । हुनसक्छ, त्यतिखेर भने मलाई तिम्रो सहयोगको आवश्यकता पर्न सक्छ । राजा हरिश्चन्द्रले भने, ठिक छ । तपाईँ तयारी गर्नुस्, जे जस्तो सहयोग चाहिन्छ, त्यो गर्न म तयार छु । तपाईँले कुनै चिन्ता गर्नु पर्दैन । मेरो राजमहलको ढोका तपाईँका लागि सधैँ खुला रहने छ ।

केहीदिन पछि, महर्षि विश्वामित्र राजा हरिश्चन्द्रको दरबारमा पुग्छन् । राजाले महर्षिको खुब सेवा गर्छन् र सोध्छन् , महर्षि तपाईँ यज्ञ गर्ने भन्दै हुनुहुन्थ्यो, तयारी कस्तो चल्दैछ ? विश्वामित्र भन्छन्, राजन यज्ञको तयारी लगभग सबै पुरा भयो । अब मलाई दानको आवश्यकता छ, र वास्तवमा यसैका लागि यहाँ आएको हुँ । तर सोच्दै छु, तिमीले दिने पो हौ कि हैनौँ ? राजा भन्छन्, किन सङ्कोच गर्नु हुन्छ, मैले वचन दिइसकेको छु । त्यसैले तपाईँ ढुक्क भएर माग्नुस्, तपाईँलाई यदि मेरो प्राण चाहिए छ भने पनि म दिन तयार छु । मलाई विश्वास त छैन, तर तिमी भन्छौ भने म माग्ने हिम्मत गर्छु । सुन दानमामलाई तिम्रो सबै ऐश्वर्य, तिम्रो सबै धन र तिम्रो सम्पूर्ण राज्य चाहियो ।

महर्षिको यो माग सुनेर, राज महलमा उपस्थित सबै स्तब्ध हुन्छन् । तर राजा मुस्कुराउँदै भन्छन्, एकदमै सामान्य कुरा माग्नु भयो महर्षि – म तपाईँलाई यो महलमा उपस्थित सबैलाई साक्षी राखेर मेरो सम्पूर्ण सम्पत्ति र राजपाट यसै क्षणबाट दान गर्दछु । राजाको कुरा सुनेर महर्षि खुसी हुन्छन्, र भन्छन् – तिमी धन्य छौँ राजन । यस्तो दान त केवल तिमी मात्रै दिन सक्छौँ । तर शास्त्रमा एउटा कुरा उल्लेख गरिएको छ ’दानको सङ्कल्पबिना दक्षिणा हुँदैन ।’ त्यसैले तिमीसँगबाट म दक्षिणा पनि अपेक्षा गर्दछु ।

राजा भन्छन्, म सहमत छु महर्षि, भन्नुस् तपाईँलाई म के दक्षिणा दिऊँ । महर्षिले दक्षिणा स्वरूप एक हजार स्वर्ण मुद्राको माग राख्छन् । राजाले आफ्नो अर्थमन्त्रीलाई भन्छन्, जाऊ महर्षिलाई तत्काल एक हजार स्वर्ण मुद्रा उपलब्ध गराउने व्यवस्था गर । राजाको कुरा सुनेर, महर्षिले अर्थमन्त्रीलाई रोक्दै भने, तिमी बस । अब तिम्रो राजा म हुँ । भर्खरै मलाई दान गरिसकेको राज्यकोबाट तिमीलाई कसरी दक्षिणा दिन सक्छौँ ? राज्य कोष त पहिल्यै मेरो भइसकेको छ भन्ने कुरा राजनले सम्भवतः बिर्सिएका हुन सक्छन् ।

राजा भन्छन्, महर्षि मलाई माफ गर्नुस्, मैले सच्चिनै यो कुरा त बिर्सिएछु । म साँझ सम्ममा तपाईँलाई एक हजार स्वर्ण मुद्रा जसरी पनि उपलब्ध गराउने छु । महर्षि भन्छन् ठिक छ राजन, तर यदि तिमीले मलाई साँझ सम्ममा पनि एक हजार स्वर्ण मुद्रा दिन सकेनौ भने, म तिमीले दिएको सम्पूर्ण दान वापस गर्ने छु ।  

महर्षिको कुराले चिन्तामा परेका राजा, आफ्नी पत्नी तारा र छोरा रोहितलाई साथमा लिएर राज महलबाट निस्कन्छन् । कुनै मान्छे, सत्ता वा शक्तिमा रहँदाको  अवस्था अलग्गै हुन्छ ।  अब राजा हरिश्चन्द्र सामान्य नागरिक बनेका थिए । यस्तो अवस्थामा उनलाई कसले एक हजार स्वर्ण मुद्रा सजिलै दिन्थ्यो होला र ! त्यसैले उनले एक हजार स्वर्ण मुद्राका लागि आफूले आफैलाई एउटा दासको रुपमा बिक्री गर्ने सङ्कल्प गर्छन् र आफूलाई खरिद गर्नको लागि आवाहन गर्छन् । तर विडम्बना उनलाई खरिद गर्नको लागि कोही पनि तयार हुँदैनन् । अन्त्यमा एक जना घाटमा लास जलाउने ठेक्का पाएको एउटा सामान्य व्यक्तिले राजालाई एक हजार स्वर्ण मुद्रामा खरिद गर्ने निर्णय गर्छ । र राजालाई एक हजार स्वर्ण मुद्रा दिन्छ ।

राजाले त्यसरी प्राप्त भएको एक हजार स्वर्ण मुद्रा दक्षिणाको रुपमा महर्षिलाई बुझाउँछन् र साँझ सम्ममा आफूलाई खरिद गर्ने मालिक भएकोमा पुग्छन् । राजालाई उनका मालिकले घाटमा दाहसंस्कार गर्ने कामको जिम्मेवारी सुम्पन्छन् ।  राजाले यसरी स्वयंलाई बेचेर दास बने पछि, उनीमाथि अब उनकी पत्नीको पनि कुनै अधिकार रहेन । जसका करण विचार रानी आफ्नो छोराको पालनपोषणका लागि मजदुरी गर्न थालेकी हुन्छिन् ।

यस्तैमा एक दिन मध्य राती, दास बनेका राजाको कानमा कुनै महिला रुँदै गरेको आवाज आउँछ । आफ्नो टहरोबाट बाहिर निस्किएर हेर्छन्, हातमा बच्चाको लास बोकेकी एक महिला आफ्नो अनुहारलाई साडीको पल्लुले छोपेर रुँदै उभिएकी हुन्छिन् । ती महिलालाई देखेर राजाले सोध्छन्, हे देवी म तिमीलाई के सहयोग गर्न सक्छु ?

महिला भन्छिन्, मेरो भएको एउटै मात्र छोराको आजबाहिर खेल्दै गरेको अवस्थामा सर्पले ठुँगेर मृत्यु भएको छ । आज मसँग मेरो मृत छोराको शरीर ढाक्नका लागि कफन किन्ने पैसा पनि छैन । ती महिला बोल्दै गर्दा राजालाई लाग्छ, आरे यो त जाने सुनेको नै आवाज हो । राजाले तत्काल सोधे, तिम्रो छोराको नाम के हो ?महिलाले भनिन् मेरो छोराको नाम रोहित हो । फेरी राजाले सोधे तिम्रो नाम के हो ?त्यतिखेर ती महिलाले म तारा हुँ स्वामीभन्दै आफ्नो ढाकिएको मुहारबाट साडीको पल्लु हटाउँछिन् । 

आफ्नी पत्नीलाई मृत पुत्रका साथमा त्यस्तो अवस्थामा देखेर हरिश्चन्द्र अत्यन्तै भाव विह्वल बन्छन् । दुवै पतिपत्नी छोराको लासलाई वीचमा राखेर निकै बेर रुन्छन् । तारा भन्छिन्, स्वामी अब हामीले जसरी पनि हाम्रो पुत्रको अन्तिम संस्कार गर्नु पर्छ । हरिश्चन्द्र भन्छन्, यो त हो, तर बिना कफन हाम्रो छोराको अन्तिम संस्कार हुन सक्दैन । र कफनको लागि यो समसान घाटलाई हामीले मुल्य चुकाउनु पर्ने हुन्छ । तारा भन्छिन्, हेर्नुस् मसँग त मुल्य चुकाउनको लागि एक पैसा पनि छैन । हरिश्चन्द्र भन्छन्, यो त मैले बुझेको छु, तर म त यो घाटको दास हुँ । मलाई मेरो मालिकले मुल्य चुकाएबिना कसैको पनि अन्तिम संस्कार नगर्नु भनेर निर्देशन दिएको छ; अब म के गरौँ ?

दुवै पति पत्नीका बिचमा एउटा अत्यन्तै कठोर सङ्कट सिर्जना भएको हुन्छ । पतिको कुरा सुनेर, ताराले अन्त्यमा आफूले लगाएको साडीको आधा भाग च्यात्छिन् र भन्छिन्, म यो बाँकी रहेको आधा साडीले मेरो शरीर ढाक्ने छु, तपाईँ यो आधा टुक्रा साडीलाई कफनको रुपमा प्रयोग गर्नुस् र हाम्रो पुत्रको अन्तिम संस्कार गरेर आफ्नो कर्तव्य पुरा गर्नुस् भन्दै आफ्नो साडीको आधा भाग हरिश्चन्द्रलाई दिन्छिन् । उनले यसो गरे सँगै आकाशमा बिजुली चम्कन सुरु हुन्छ । 

यो तमाम दृश्यलाई तीनै लोकमा रहेका देवता तथा दिव्य आत्माहरूले हेरिरहेका हुन्छन् । यसै बीचमा हर्षि विश्वामित्र त्यहाँ प्रकट हुन्छन् । उनले हरिश्चन्द्रलाई अँगालो हाल्दै भन्छन्, हे राजन तिमी महान् छौँ । तिमीबाहेक सत्यनिष्ठा र त्यागको यति महान् उदाहरण यो तीनै लोकमा अरू कसैले पनि स्थापित गर्ने साहस गर्न सक्दैन । तिम्रो यो त्यागले आज यो धर्तीका मनुष्य मात्र हैन स्वर्गका सबै देवताहरू पनि धन्य बनेका छन् । मलाई माफ गर, म त केवल तिम्रो परीक्षा लिराखेको थिए । म आज तिम्रो सारा धन, वैभव र राज्य तिमीलाई वापस गरिदिँदै छु र सँगसँगै देवताहरूको आशीर्वादले तिम्रो पुत्रलाई पनि जीवित गरिदिन्छु भनेर मृत अवस्थामा रहेका छोरा रोहितलाई पनि जीवित गरिदिन्छन् । 

कथा यहाँ समाप्त हुन्छ । यो केवल एउटा कथा मात्र पनि हुन सक्छ, तर पनि यो कथाले हामीलाई एउटा ठुलो पाठ सिकाएको छ । त्यो पाठ हो, जीवनमा इमानदारी त्यतिखेर साबित हुन्छ जब तिमीलाई बेइमान बन्न सक्ने उचित अवसर मिलेको होस्, कुनै मजबुरी पनि होस् तर पनि तिमी आफ्नो सत्यनिष्ठा र कर्तव्यबाट च्युत हुँदैनौँ । अर्थात् प्राप्त सत्ता, शक्ति तथा वैभवले कहिलेकाहीँ कसैलाई आफ्नो नैतिक मूल्यबाट पछि हट्नका लागि चुनौती दिइरहेको अवस्थामा पनि जो विचलित नबनीकन आफ्नो कर्तव्यनिष्ठको बाटोमा अडिग रहन्छ उसको नाम राजा हरिश्चन्द्रको जस्तै युगौँ युग सम्म पनि अमर रहने छ ।

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार) 
dhakalrp@gmail.com

 

सम्बन्धित समाचार