२०८१ श्रावण ३ गते , विहीबार

धरानमा उब्जिएको धर्म सङ्कट के स्वाभाविक हो ?

sajilo news
रमेश ढकाल
२०८० श्रावण ११ गते , विहीबार
धरानमा उब्जिएको धर्म सङ्कट के स्वाभाविक हो ?

एउटा राक्षसको छोरालाई मान्छेको मासु खान मन लाग्छ र उसले आफ्नो बाउलाई ल्याइदिनका लागि अनुरोध गर्छ । बाउ गएर एउटा मरेको गाई लिएर आउँछ र छोरालाई खानका लागि दिन्छ । छोरो भन्छ, बाबा मैले त मान्छेको मासु मागेको थिएँ । बाउ, ठिक छ छोरा, तिमी यसलाई लगेर कुनै मन्दिरको अगाडि फ्याकिदेउ, म तिम्रो लागि मान्छेको मासु ल्याइदिने छु । बाउ पुनः फर्कन्छ र केही समय पछि, एउटा मरेको सुँगुर लिएर आउँछ र छोरालाई दिन्छ । छोरोले भन्छ, बाबा मैले त मान्छेको मासु मागेको थिए, यो त फेरि सुँगुर ल्याउनुभयो । बाउ, चिन्ता नगर छोरा, अब तिमी जाऊ र यसलाई लगेर कुनै मस्जिदको अगाडि फालिदेऊ, त्यस पछि भने म तिमीलाई पक्का पनि मान्छेको मासु ल्याइदिने छु । 

राक्षसको छोरा गएर, उसको बाउले भने अनुसार मरेको गाईलाई मन्दिरको अगाडि र मरेको सुँगुरलाई मस्जिदको अगाडि फालिदिन्छ र फर्किएर आउँछ । बाउ, छोरालाई हेर्दै, छोरा तिमीले मैले भने जस्तै ग¥यौँ नि? छोरो–बाबा, तपाईँ ढुक्क हुनुहोस्, मैले ठ्याक्कै तपाईँले भने जस्तै गरेको छु । छोराको कुरा सुनेर बाउ खुसी व्यक्त गर्दै, ल राम्रो ग¥यौँ, अब हेर म तिम्रो मान्छेको मासु खाने इच्छा कसरी पुरा गर्दो रहेछु ?

नभन्दै, एक छिनमा मन्दिरको अगाडि केही मान्छेहरू भेला हुन्छन् र त्यहाँ मरेको गाई फालिएको देखेर अत्यन्तै क्रोधित  बन्छन् – जो हिन्दु धर्म मान्ने मान्छे थिए । अर्को पटी मस्जिदको अगाडि पनि केही मान्छे भेला हुन्छन् र त्यहाँ मरेको सुँगुर फालिएको देखेर उनीहरू पनि अत्यन्तै क्रोधित बन्छन् – जो इस्लाम धर्म मान्ने मान्छे थिए । 

हिन्दु दाजुभाइहरूले सम्झन्छन् गाई मारेर मन्दिर अगाडि फाल्ने काम यिनै मुसलमानहरूको हो । उता मुसलमान दाजुभाइहरू सम्झन्छन् यो सुँगुर मारेर हाम्रो मस्जिद अगाडि फाल्ने काम यिनै हिन्दुहरूको हो । अब, यी दुवै समूहका बिचमा आरोप प्रत्यारोप सुरु हुन्छ । त्यो गएर गालीगलौजमा परिणत हुन्छ, र पछि गालीगलौजले मारकाटको रूप लिन्छ । त्यहाँ रक्तपात हुन्छ । उक्त लडाइँमा दुवै पक्षका मान्छे मारिन्छन् ।

राक्षसी बाउ, खुसी हुँदै गएर, एउटा जवान मान्छेको मृत शरीर बोकेर लिएर आउँछ र आफ्नो छोरालाई दिँदै, ल छोरा अब खाऊ मान्छेको मासु । तिमीलाई यो पक्कै पनि मन पर्ने छ, किनकि यो मृत शरीर एकदमै तन्दुरुस्त जवान मान्छेको हो । छोरो, खुसी हुँदै धन्यवाद बाबा, अब भने मेरो रहर पुरा हुने भयो भन्दै उक्त मृत शरीर चिथोरिन्न थाल्छ ।

कथा त यतिमै सकियो । यो एउटा मिथक कथा थियो, यसलाई एउटा विम्बका रुपमा मात्र बुझौँ । र सोचौँ धरानमा अहिले उब्जिएको धर्म सङ्कट कतै तपाईँ हामीलाई पनि आपसमा लडाई गराएर कुनै तेस्रो पक्षले फाइदा लिन खोजी राखेको त हैन नि ?

अहिले धरानमा जुन प्रकारको एउटा धर्म सङ्कटको स्थिति सिर्जना भएको छ, यो स्वाभाविक हो या यसमा कुनै अज्ञात तेस्रो पक्षको संलग्नता छ भन्ने विषयमा हामी कसैलाई कुनै पनि ज्ञान छैन । त्यसैले यो विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा जुन प्रकारका उत्तेजक टिप्पणीहरू भइरहेका छन्, यो यसरी नै बढ्दै जाने हो भने, हामीले थाहा नपाईकन यसले अर्कै रूप लिनलाई धेरै समय नलिन पनि सक्छ । र जतिखेर हामीलाई सत्यताको बोध हुन्छ, त्यतिखेर धेरै ढिलो भइसकेको हुनसक्छ । 

सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीमा एक रुपता सम्भव नहोला, तर एकता थियो र त्यो सधैँ रहिरहने छ । अनेकतामा एकता नै हाम्रो देशको पहिचान हो । त्यसैले एकता बिथोलिने खाले अभिव्यक्ति (ललकार) कसैबाट पनि आउनु हुँदैन । त्यसमा पनि जिम्मेवार जनप्रतिनिधिहरूबाट त झनै आउनु भएन । यो विषयमा सम्बन्धित सबै समय मै होसियार बनौँ ।

रमेश ढकाल 
भद्रपुर–झापा (हाल दोहा–कतार) 
dhakalrp@gmail.com

सम्बन्धित समाचार