२०८३ बैशाख २४ गते , विहीबार

यसरी बाहिरिएको थियो विमानस्थलबाट एक क्विन्टल सुन

sajilo news
पत्रपत्रिका
२०८० श्रावण ६ गते , शनिबार
यसरी बाहिरिएको थियो विमानस्थलबाट एक क्विन्टल सुन

काठमाडौं : हङकङबाट आएको क्याथे प्यासिफिकको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो अवतरण गर्‍यो। त्यसपछि जहाजको भूमि प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) सुरु भयो। ग्राउन्ड ह्यान्डलिङ भनेको विमानस्थलमा वायुयान अवतरण गरेदेखि प्रस्थान नहुन्जेलसम्म दिइने सेवा हो। भारतीय विमानहरूले भने आफैं ग्राउन्ड ह्यान्डलिङ गर्छन्। अन्य सबै अन्तर्राष्ट्रिय विमानहरूको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले गर्दै आइरहेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौला बताउँछन्।

क्याथे प्यासिफिकबाट आएका यात्रुका मालसामानहरू र कार्गो सामान लिन विमानसम्म पुगे, नेपाल एयरलाइन्सका कर्मचारी। त्यसपछि विमानका कर्मचारीले ‘एयरवे’ बिल ग्राउन्ड ह्यान्डलिङ (नेपाल एयरलाइन्सका कर्मचारी) लाई जिम्मा लगाए। एयरवे बिल भनेको एउटा कागजात हो जुन अन्तर्राष्ट्रिय एयर कुरियरद्वारा पठाइएका सामानहरूसँगै ढुवानीको बारेमा जानकारी प्रदान गर्न र यसलाई ट्याकिङ गर्न अनुमति दिइएको हुन्छ। क्याथे प्यासिसिफको उक्त विमानमार्फत ‘अटो पार्टस्’ लेखिएको कार्गो रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

त्यसपछि निगमले खटाएका ग्राउन्ड ह्यान्डलिङका इन्चार्जले उक्त कार्गो सिनामंगल गैरीगाउँस्थित कार्गो कप्लेक्समा पठाउने प्रबन्ध गरे। यसबेलासम्म सामानको चेकजाँच भएन। सामान सीधै ट्रलीमार्फत कार्गो कम्प्लेक्समा पठाइएको थियो। कार्गो सामान सधैं यसरी नै पठाइने गरिएको विमानस्थलका कर्मचारी बताउँछन्। कम्प्लेक्समा सामान पुगेपछि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई जिम्मा दिइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणपट्टि रहेको कार्गो कम्प्लेक्सभित्रको गोदाम व्यवस्थापनको जिम्मा उक्त कम्पनीले गर्दै आएको छ।

सरकारी संस्थानको रूपमा गोदाम कम्पनी पनि छ। विमानबाट कार्गो सामान बुझ्ने ठाउँसम्म प्रहरी नजाने र सामान सीधै भन्सारमा आउने भएकाले त्यस अवधिमा आफ्नो कुनै भूमिका नहुने प्रहरी अधिकारी बताउँछन्। प्रहरी प्रवक्ता कुवेर कडायत भन्सारका ग्राउन्ड ह्यान्डलिङ र भन्सारका कर्मचारीले सहयोग माग गरेको अवस्थामा मात्रै प्रहरी त्यहाँ पुग्ने गरेको बताए।

गोदामले सामान यसरी बुझ्यो

एयरवे बिलको आधारमा ग्राउन्ड ह्यान्डलिङका कर्मचारीले रुजु गराएपछि गोदाम कम्पनीले सामान बुझेको थियो। त्यहाँ पुगेका सामानको जिम्मा गोदाम कम्पनीले लिने गरेको प्रवक्ता सिटौलाले बताए।

त्यसपछि ग्राउन्ड ह्यान्डलिङबाट रुजु भएको सामान गोदाम कम्पनीले कम्प्युटरमा इन्ट्री (प्रविष्ट) गरेका थिए। जहाँ स्कुटरको ब्रेक सु र दाह्री काट्ने मेसिन भनेर नै सामान इन्ट्री भएको स्रोतले बतायो। कम्प्युटरमा हालिसकेपछि त्यसलाई भन्सारको आसिकुडा सिस्टममा राखियो। आसिकुडा भनेको भन्सार प्रशासनलाई सरल, सहज र एकीकृत बनाउने कम्प्युटरकृत प्रणाली हो। यो प्रणाली सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवात भएको हो। जस्ले भन्सार कार्यलाई आधुनिक, वैज्ञानिक, मितव्ययी बनाउने र राजस्व चुहावट नियन्त्रण गर्दै आर्थिक पारदर्शिता कायम गर्ने गर्छ।

त्यसपछि कार्गोलाई व्यवस्थित गरेर गोदाममा राखिएको थियो। भन्सारले निकाल्नु नभनेसम्म सामान गोदाममा नै सुरक्षित हुन्छ। यहाँ गोदामको रातिको सुरक्षा नेपाली सेनाले गर्छ। विमानस्थल भन्सार, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आर्मीको रोहवरमा गोदाम खोल्ने र बन्द गर्ने काम हुन्छ। खोलिसकेपछि आन्तरिक सुरक्षा गोदाम कम्पनीको हुन्छ।

गोदाममा कम्प्युटरमा चढाइएका सामान आसिकुडामा व्यवस्था गरिन्छ। आसिकुडा भनेको भन्सार तथ्यांकको स्वचालित प्रणाली हो। आसिकुडामा गएको सामानलाई सम्बन्धित आयातकर्ता वा आयातकर्ताले तोकेको भन्सार एजेन्टले सम्बन्धित सामानको सो घोषणा गर्दै प्रज्ञापनपत्र भर्ने विमानस्थल भन्सार कार्यालय प्रवक्ता अम्बिकाप्रसाद खनाल बताउँछन्। सुनजडित ब्रेक सु र दाह्री काटने मेसिनको प्रज्ञापनपत्र भन्सार एजेन्ट राजेन्द्रकुमार राईले भरेका थिए। 

भन्सार एजेन्टसँग पनि एयर वे बिल हुन्छ। भन्सार एजेन्टले भरेको उक्त प्रज्ञापनपत्रको आधारमा आयातित सामान कुन लेनमा पर्छ भन्ने कम्प्युटरले छुट्ट्याइदिन्छ। ग्रिन, यल्लो र रेड लेन हुन्छ। विमानस्थलमा आउने भनेको कार्गो प्रायः ग्रिन लेनमा नै पर्ने हुन्छ। किनभने अन्तर्राष्ट्रिय कार्गो आउने हुँदा सम्बन्धित देशहरूमा पनि जाँच हुने भएकोले बदमासी हुँदैन भन्ने मान्यता राख्ने गरिएको भन्सारका एक कर्मचारीले बताए। भन्सार विभागले दिएको एचएस कोडका आधारमा विभागले कुन सामान कुन लेनमा पर्छ भनेर तोकिदिएको हुन्छ। हरेक १५–१५ दिनमा कुन लेनमा कुन सामान पर्छ भन्ने विभागले परिवर्तन गर्ने गर्छ। मतलव कुनै सामान सधैं ग्रिन, यल्लो वा रेड लेनमा पर्छ भन्ने हुँदैन।

विमानस्थल भन्सारले सामान निकाल्न अर्डर गरेपछि ज्ञापनपत्रको आधारमा कुन कम्पनीको सामान हो, कसले लिने, आधिकारिक व्यक्ति को हो भन्ने कागजसहित एजेन्ट आउँछन्। उनीहरूले गोदाममा राखेको निश्चित शुल्क तिरेको रसिदपछि ती सामान भन्सारको एक्सरेमा हालिन्छ। सुन जडित ब्रेक सु र दाह्री काटने मेसिन पनि एक्सेरमा राखिएका थिए। एक्सरेमा ती सामान ‘कालो डल्लो’ देखिएको भन्सार स्रोतले बतायो। त्यसपछि जाँचकीले केही पोका खोलेर हेरे पनि ब्रेक सु भित्र सुन भनेर छुट्ट्याउन नसकेको भन्सार स्रोतले बतायो। आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।

सम्बन्धित समाचार