२०८३ बैशाख २४ गते , विहीबार

गत आर्थिक वर्ष रोजगारीका लागि पौने आठ लाख विदेशिए

sajilo news
पत्रपत्रिका
२०८० श्रावण २ गते , मंगलबार
गत आर्थिक वर्ष रोजगारीका लागि पौने आठ लाख विदेशिए

काठमाडौँ । आर्थिक वर्ष २०७९–८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९–८० मा सात लाख ७१ हजार ३२८ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८–७९ मा छ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए । 

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए । उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे। 

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रम स्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रम स्वीकृति लिए । गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका छन् । त्यसै गरी गत फागुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७७–७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६–७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो ।  यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

सम्बन्धित समाचार