बिर्तामोडको बद्रीबारी टोलका १३ घरको तार एकै रातमा चोरी
बिर्तामोड । बिर्तामोड–९ बद्रीबारी टोलमा एकै रात चोरले १३ वटा घरबाट तार चोरी गरी लगेको छ। गएराति चोरले ती घरहरूबाट तार लगायत मोबाइल फोन समेत चोरी गरिलगेको बद्रीबारी टोल विकास संस्था बिर्तामोड–९ की अध्यक्ष बिन्दा खरेलले जानकारी दिइन्। तार चोरी भएसँगै यहाँका स्थानीयले असुरक्षित भएको महसुस गरेका छन्। कतिपयको घरमा चोरले दोस्रो पटक तार चोरेर लगेको जनाइएको छ भने कसैको घरमा पहिलो पटक चोरी भएको हो। असुरक्षाको महसुस गर्दै टोलको तर्फबाट सम्बन्धित प्रहरीसमक्ष निवेदन दिने तयारी रहेको टोल अध्यक्ष खरेलले जानकारी दिइन् ।
बद्रीबारी टोलका तुलसी खतिवडा,टोल अध्यक्ष खरेल,बृहस्पति सेंढाई, नवीन सेंढाई,बुधलाल महतो,सागर आले,बालकृष्ण आले,हरि राजवंशी, कमल राजवंशी,सनमान तामाङ, टिकाराम सिटौला,गोपाल सिटौलालगायत छिमेकी बिराटपोखर टोल विकास संस्था बिर्तामोड–१० का रमेश पाठक लगायतको घरको बाहिर वायरिङ गरिएको तथा पानीको मोटरमा जडान गरिएको तार एकैसाथ चोरी भएको पीडितहरूले जानकारी गराएका छन्। चोरी रातको १२ देखि १ बजेसम्ममा भएको हुनसक्ने अनुमान गरिएको छ।
एकै रातमा १३ घरबाट यसरी तार चोरी भएको यो पहिलो घटना हो । पिलासले तार काटेर लगिएको र केही काटिएको टुक्रा तार हतारमा चोरले छोडेर गएको र साथमा रहेको बल्ब र होल्डर समेत छोडेर गएको पीडित टिकाराम सिटौलाले बताए। आफ्नो घरबाट दुई वटा मोबाइल फोन समेत सोही चोरहरूले झ्यालबाट तानेर लगेको पीडित बृहस्पति सेढाईले जानकारी दिए। बालकृष्ण आले,बुधलाल महतो लगायतको तार चोरी भएको यो दोस्रो पटक भएको जनाइएको छ । उनीहरूको घरबाट यस भन्दा पहिला पनि तार चोरी भैसकेको छ । बिर्तामोड–९ बद्रीबारी टोलमा पटक पटक तार चोरीको घटना बढिरहेको छ।