२०८३ बैशाख १६ गते , बुधबार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ७ स्थित दोर्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पा घर भई हाल मझुवागढी ७ बस्दै आएका ३२ वर्षीय बालजीत राईले मङ्गलवार साँझ ७ बजे सामान्य वादविवादको क्रममा आफ्नै श्रीमती २८ वर्षीया सरिता तामाङलाई कुटपिट पश्चात् खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
घटना भए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले घर नजिकै रहेको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा श्रीमानलाई फेला पारी पक्राउ गरेको हो । हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।