झापाका विद्यालय कर्मचारीहरू चरणबद्ध आन्दोलनमा
भद्रपुर । सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै झापालगायत ७७वटै जिल्लाका विद्यालय कर्मचारीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । पहिलो चरणको आन्दोलनअन्तर्गत झापाका विद्यालय कर्मचारीहरूले आज शिक्षा विकास तथा समन्वय इकाई भद्रपुरमा २ घण्टा धर्ना दिएका छन् ।
विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्णयबमोजिम झापा अध्यक्ष चन्द्रप्रसाद प्रसाईँ ,भद्रपुर अध्यक्ष करकचन्द्र राजवंशीलगायतको नेतृत्वमा गएका जिल्लाभरिका सामुदायिक विद्यालयका कर्मचारीहरूले समन्वय इकाई झापाको मूल गेटमा ११ देखि १ बजेसम्म २ घण्टा धर्ना दिएका हुन् । शिक्षा ऐन जारी भएपछि कर्मचारीहरूको दरबन्दीको व्यवस्था गरिनु पर्ने,६०वर्ष माथिका कर्मचारीहरूलाई न्यायोचित एकमुस्ट उपदानको व्यवस्था गरिनु पर्ने माग रहेको छ । त्यसैगरी सहयोगी कर्मचारीको २६ हजार र सहायक कर्मचारी लेखापालको तलब सुविधा ३६ हजार पुर्याउनु पर्ने उनीहरूले माग गरेका छन् ।
झापाका ३ सय ६५ वटा सामुदायिक विद्यालयमा ५०० को हाराहारीमा कर्मचारीहरू रहेका छन् । आफूहरूको मागलाई सरकारले सुनुवाइ नगरे रिले अनशनलगायत विद्यालय तथा विद्यालय प्रशासन समेत बन्द गर्ने योजना रहेको झापा अध्यक्ष प्रसाईँले बताए ।