हराएको भ्रम फैलाउने झापाका सुहाङ र दर्जी पक्राउ
हराएको भ्रम फैलाई झुक्क्याउने झापा बुद्धशान्ति गाउँपालिका वडा नं.४ का पूर्ण भन्ने शेरबहादुर सुहाङ पक्राउ परेका छन् ।उनको साथमा भ्रम फैलाउन मिलेमतो गर्ने सोही ठाउँका ३९ वर्षीय प्रेम भन्ने फूलबहादुर गौतम दजीलार्ई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत बैशाख ३१ गते साँझ ५.४० बजेको समयमा बुद्धशान्ति गाउँपालिका वडा नं.३ बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा करिब १०० जनाको सङ्ख्यामा भेला भई भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रम भएको थियो । उक्त कार्यक्रम सम्पन्न भएपश्चात् सुहाङले फेसबुकमा उक्त भ्रष्टाचार विरुद्धको विरोध कार्यक्रमका आयोजकहरूलाई आघात पुग्ने गरी फेसबुकमा स्ट्याटस लेखी सेयर गर्दा नेपाल तरुण दल बुद्धशान्तिका केही मानिसहरूसँग विवाद भएपछि आफूलाई बेपत्ता बनाएको भ्रम फैलाएका थिए । खोजतलासका लागि उनका आफन्तहरूले इलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते हुलियासहित निवेदन दिएका थिए । त्यसपश्चात् जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटर प्याडमा लिम्बुवान भोलेन्टियर (एल.भी.) इन्चार्ज सुहाङलाई सकुशल अपहरण मुक्त गरी दोषीलाई कडा कारबाही गरियोस् भन्ने ब्यहोराको प्रेस विज्ञप्ति समेत जारी गरिएको थियो ।
त्यसरी प्रहरी प्रशासनलाई दबाब दिइएपछि प्रहरीले घटना सम्बन्धमा तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी वैज्ञानिक अनुसन्धान सुरु गरेको थियो । त्यस क्रममा सोही ठाउँ बस्ने सुहाङकै साथी दर्जीसँगको मिलेमतोमा बुद्धशान्ति गाउँपालिका वडा नं.७ पैनिबगरमा आफूले लगाएको टी–सर्ट च्यातेर, घडी समेत चुँडाई फाली भ्रम सिर्जना गरी सम्पर्कविहीन भएको अनुसन्धानबाट खुल्न आएको थियो ।
बुधवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थानीयसमेतको सहयोगमा इलाम रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको पुलमुनिबाट सुहाङलाई फेला पारी नियन्त्रणमा लिएको हो । सुहाङ र दर्जीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डीएसपी खगेन्द्र रिजालले बताए ।