२०८३ बैशाख २४ गते , विहीबार

अस्ट्रेलिया र दक्षिणी कोरिया पठाइदिने भन्दै पीडितहरूबाट लाखौँ रकम असुल्ने पूर्वमेयरका छोरा फरार, झापा प्रहरी खोज्दै

sajilo news
पार्थ मण्डल
२०८० जेष्ठ १ गते , सोमबार
अस्ट्रेलिया र दक्षिणी कोरिया पठाइदिने भन्दै पीडितहरूबाट लाखौँ रकम असुल्ने पूर्वमेयरका छोरा फरार, झापा प्रहरी खोज्दै

झापा । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणको घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको बेला झापाको दमकमा पनि अस्ट्रेलिया र दक्षिणी कोरिया पठाइदिने ठगी घटनाले चर्चा बटुलेको छ । 
दमक नगरपालिका– ५ बस्ने ३५ वर्षीय अनिल ओलीले पाँच जनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेर सम्पर्कविहीन भएपछि सो घटनाले चर्चा पाएको हो । अनिल दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओलीका छोरा हुन् । 
ओलीले अस्ट्रेलियामा जेनेरल वर्कर काममा पठाइदिने भन्दै दमक– २ बस्ने कृष्ण अधिकारी, सोही ठाउँका प्रेमकुमार गुरागाईँ, दमननाथ ढुङ्गाना, आकाश निरौला लगायतबाट ४५ लाख रुपैयाँ लिएका छन् । अधिकारी र गुरागाईँले १५/१५ लाख रुपैयाँ र अन्य तीन जनाले ५÷५ लाख रुपैयाँ दिएको बताइएको छ । 
राजनीति पृष्ठभूमि राम्रो भएको ओली परिवारका सदस्यले नै अस्ट्रेलिया पठाइदिन्छु भन्दा कसरी नपत्याउनु कृष्णकी श्रीमती जमुना अधिकारीले भनिन्, ‘अनिलसँग मेरो व्यक्तिगत चिनजान थियो, उसले नै अस्ट्रेलिया पठाइदिन्छु भनेपछि श्रीमानलाई अघि सारेको हो ।’ घरमा सरसल्लाह गरी श्रीमान्लाई अस्ट्रेलिया पठाउने भन्दै मैले नै सुरुदेखि अनिलसँग सहकार्य गरेको बताउँदै उनले भनिन्, ‘ श्रीमानको आवश्यक कागजातदेखि रकमसम्म मैले नै अनिललाई भेटेर बुझाएको हुँ ।’ 
कृष्ण जान लागेको थाहा पाएपछि प्रेमकुमार गुरागाईँसहित अन्य चार जना पनि अस्ट्रेलिया जाने भनी अनिलसँग गएर ठोक्किए । 
अनिलले अस्ट्रेलियामा आफन्तजन रहेको र सहजै पठाउन सकिन्छ भनेर एक जना बराबर १५ लाख रुपैयाँ बुझाउनु पर्ने सर्त राखियो । अस्ट्रेलिया पुगेपछि मासिक ३ लाख तलब हुन्छ । उनले भनेको सर्त सबैले सहजै स्वीकारे गरे । उसले सुरुमा नेपालबाटै अस्ट्रेलिया पठाउने भनियो । 


पछि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लगायतका अन्य कागजात पनि बनाउनु पर्ने र त्यो भारतबाट मात्र सहज हुने भएपछि उनीहरू अनिलले राखेको कुराको पछि नलाग्नुको विकल्प थिएन । यो घटना हो प्रदेश तथा सङ्घीय निर्वाचन २०७९ अघिको हो । टिकट र भिसा आइसकेको भन्दै अनिलले पाँचै जनालाई भारतको बागडोगरा एयरपोर्टबाट लखनउ पठाए । त्यसबापत अनिलले टिकट र भिसाका लागि भन्दै प्रतिव्यक्ति ५/५ लाख रुपैयाँ लिए ।  लखनउमा पुगेर श्रीबहादुर गुरुङसँग भेट गर्नु र उहाँले नै तपाईँहरूलाई अस्टे«लिया उडाइदिन्छ भनेर अनिलले भनेर पठाएको जमुनाले सुनाइन् । 

‘लखनउ पुगेपछि श्रीमानसहित पाँचै जनालाई अलपत्र पारियो,’ उनले भनिन्, श्रीमान् र प्रेमज्यू एक महिना लखनउमा बस्नुभयो, अन्य तीनलाई पछि उडाने भन्दै नेपाल फिर्ता पठाइयो । पछि बुझ्दै जाँदा सुरुमा अनिलले देखाएको टिकट नक्कली पो रहेछ । पछि अनिलले सक्कली टिकट देखाएर थप १० लाख रुपैयाँ माग गरे । 
‘श्रीमान् र प्रेमज्यू लखनउमै हुँदा म र प्रेमकी श्रीमती अनिललाई भेटेर १०/१० लाख रुपैयाँ बुझाएऔं, रकम बुझाए बापत अनिलसँग लिखित कागज पनि गरेऔँ,’ उनले भनिन्, ‘रकम बुझाएको तीन दिनभित्रै उहाँहरूको टिकट रद्द ग¥यो, त्यसपछि उहाँहरू निराश भएर नेपाल फर्किनु भयो ।’ 
धन्न हामीले अनिललाई पैसा बुझाएको लिखित कागज गरेका रहेछौँ । त्यही कागज बोकेर अनिललाई भेट्न उहाँका घर गएऔं । ‘तर, उहाँका घरका सदस्यले उल्टै हामीलाई हप्काएर पठाइदिनुभयो,’ उनले भनिन्, ‘त्यसको केही दिन पछि फेरि उहाँका बुबा रोमनाथ र मामासँग पनि कुरा राखेऔँ, मामाले भान्जा फटाहा हो भनेर छलफलमै गाली पनि गर्नुभयो, रकम दिलाउने आश्वासन पनि पाइयो ।’ पछि कुरा बुझ्दै जाँदा त अनिलले कोरिया पठाइदिनेहरूबाट पनि जनही ९ देखि १० लाख रुपैयाँ लिएको उनले बताए ।    
आश्वासन आश्वासनमै सीमित भयो । पछि फेरि कुरा राख्दा अनिलले लिएको सबै रकम श्रीबहादुर गुरुङले लिएर भागेको र उहाँबाट उठाएर दिन्छौ भनेर कुरा आयो । ‘तर, हामीले त्यो कुरा मानेनौँ,’ उनले भनिन्, ‘रकम अनिललाई दिएको हुनाले हामी अनिललाई चिन्छौँ, अरूलाई चिन्दैनौँ ।’ यी कुरा राखेको पनि ६ महिना बित्यो । तरपनि रकम हात लागेन । अनि हामी कानुनी उपचारमा बाटोमा गएको उनको भनाई छ । वैदेशिक रोजगार विभागमा अनिलको नाममा पीडितहरूले उजुरी दिएको छ । पीडितहरूले १५ लाखसहित ५० प्रतिशत हर्जानासहित प्रतिव्यक्ति २३ लाख ५० हजार फिर्ता दिलाई पाउन भनी उजुरी पत्रमा उल्लेख छ । 

अनिलको नाम पक्राउ पुर्जी   

झापा जिल्ला अदालत भद्रपुरले ठगी धन्दाका आरोपी अनिल ओलीको नाममा पक्राउ पुर्जी जारी गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । 
आरोपी अनिलले उल्टै श्रीबहादुर गुरुङले चाहिँ रकम ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्दा  सरकारी वकिल कार्यालयले अनिलले दिएको उजुरी उल्टाइदियो । त्यसपछि अदालतले चैतको पहिलो साता अनिलको नाममा बिगो रकमसहित पक्राउ पुर्जी जारी गरेको डीएसपी रिजालले बताए । 
यता अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा वैदेशिक रोजगार विभागले पनि अनिलको नाममा चैत २८ गते पक्राउ पुर्जी जारी गरियो । अनिलको नाममा दोहोरो पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

हाल अनिल प्रहरीको फरार सूचिमा रहेको बताउँदै डीएसपी रिजालले भने, ‘अनिललाई जहाँ भेटिन्छ, त्यहीबाट पक्राउ गरिन्छ, उन्मुक्ति दिने कुरा नै छैन ।’ यता पीडितहरूका अनुसार अनिल दमक आसपास नै लुकेर बसेको र प्रहरीले उनलाई पक्राउ गर्न नचाहेको आरोप लगाउँदै आएको छ ।  


 

सम्बन्धित समाचार