दाइजो, समाज र कानुन
जिनत शेख । झापा
विवाह एक पवित्र बन्धन हो, तर हाल नेपालको तराई-मधेसतिर यसलाई व्यापारको रुपमा लिएको पाइन्छ। विवाह गर्नु भनेको व्यक्तिगत सम्बन्ध र विषय मात्रै हैन । यो सामाजिक, सांस्कृतिक र आर्थिक विषय पनि हो। नेपाली समाजमा विवाह खर्चिलो, झड्किलो बन्दै गएको छ । यसले छोरी जन्मिनुलाई नै समस्याको रूपमा लिएको अवस्था पनि हाम्रो समाजमा रहेका पाइन्छ। जसकारण भ्रूण हत्या बढेको भन्दै लिङ्गको पहिचान गरी गर्भपतन गर्न नहुने (मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद १३ को दफा १८८ को उपदफा ७) गरी कानुनी व्यवस्था गरिएको पाइन्छ।
दाइजो प्रथा एउटा त्यस्तो प्रथा हो जसले समाजका महिला र उनीहरू को परिवार लाई यातना पूर्ण जीवन यापन गर्न बाध्य बनाएको देखिन्छ। यो दाइजो वा देहजको बारेमा अधिकांश तराईमा घटनाहरू सार्वजनिक हुने गरेको पाइन्छ। भारतीय सीमा, संस्कार र संस्कृतिसँग नेपालको तराई प्रदेश नजिक रहेको छ। तराइमा बसोबास गर्ने नेपालीहरूको भारत र भारतीय नागरिकहरू सँग विवाह हुने गरेको छ। भारतमा दहेज प्रथा सामाजिक कुप्रथा (Social Evil) को रूपमा मात्र नरही बुहारी घरमा आएपछि दहेजको सर्त पूरा नभएमा ठुलो यातना भोग्नु परेका र कतिपय अवस्थामा आत्महत्या नै गर्नुपर्ने अवस्था आइपर्ने भएकोले भादस को दफा २०४ क मा दाइजोको कारण मृत्यु (Dowry Death) को प्रावधान राखी विवाह गरेको मितिले ७ वर्ष भित्र लोग्नेको घरमा श्रीमतीको अप्राकृतिक मृत्यु (Unnatural Death) भएको अवस्थामा मृत्यु दाइजोका कारण भएको भन्ने अनुमान गरिने र उक्त कुरा होइन भन्ने प्रमाण पुर्याउनुपर्ने भार लोग्नेका परिवारउपर हुने व्यवस्था गरिएको छ।
दाइजो भनेको बुबाले आफ्नो जीवन भर कमाएको र जम्मा गरेको रकम आफ्नो छोरीको बिदाइ सम्म सकाउने र बुबालाई ऋणमा डुबाउने सामाजिक कुरीतिको प्रक्रिया हो। दुलहा पट्टीको माग पुरा गरेबापत बुबा ऋणमा डुबेर आफ्नो आत्महत्या गर्न बाध्य हुन्छन् र विवाहपछि गरिएको पुनः माग पुरा नभएको खण्डमा यातना खेप्न नसकेर दुलहीले आत्महत्या गरेको वा ज्यान मारिएको कैंयौं मुद्दा अझ पनि हाम्रो समाजले ढाकछोप गरेको देखिन्छ।
यस सम्बन्धमा धेरै मुद्दाहरू भारतीय सर्वोच्च अदालत सम्म पुगेको र यी हत्यामा संलग्न व्यक्तिले यस्तो प्रमाण पुऱ्याउन नसकेको कारण दोषी ठहर भएका धेरै मुद्दा रहेका छन्। यो संहिताले भने यस्तो दाइजोको कारणले हत्या भएकोमा छुट्टै कानुनी व्यवस्था गरेको पाइँदैन। शायद: भारतमा जस्तो नेपालमा यो प्रथाले त्यत्ति धेरै असर नपारेको विधायिकी सोच हुन सक्छ। यद्यपि, यस बारेमा सामाजिक रूपमा र सञ्चार जगतमा दाइजोको घटनाको बारेमा दाइजोको कारण बुहारीलाई घरमा यातना दिएको वा मार्ने प्रयत्न गरेको वा ज्यान नै मारेको जस्ता वारदात का घटनाहरू प्रसारणमा आउने गरेका छन्।
मधेसी समाजमा दाइजो एउटा परम्परा नै बनेको छ। दाइजो विवाह भन्दा अगाडि नै अर्थात् मगनी (Engagement) को दिन नै माग्ने गरिन्छ जसमा कार, मोटरसाइकल, फर्निचर, घर जग्गा जस्ता महँगो महँगो सामग्री रहेको हुन्छ। दुलही पट्टी को ले दुलहा पट्टी को माग धेरै भएको खण्डमा बार्गेनिङ पनि गरेको पाइन्छ। अझ अहिले त विवाहको तामझाम, सजावट पनि दुलहा पट्टीले चाहे बमोजिम कै हुनुपर्छ। तराई मधेस तिर दुलही पट्टीले यस्तो समस्या सार्वजनिक गर्न नचाहेको कारण के हो भने यदि विवाह भन्दा अगाडि माग गरिएको दाइजो प्रति आपत्ति जनायो भने हुन लागेको महिला को विवाह पनि नहुने र यदि विवाह पछि आपत्ति जनायो भने दुलही लाई शारीरिक वा मानसिक यातना दिने जस्तो एउटा खतरनाक प्रवृत्तिले आफ्नो जरा कडा रुपमा गाडेको देखिन्छ।
मधेसमा विवाह भन्दा अगाडि घर जति सुन्दर भए पनि घर अत्यधिक मात्रामा खाली नै रहेको हुन्छ र विवाह पश्चात् मात्र दाइजो ले नै आफ्नो घर सजाएको (भरिएको) पाइन्छ। अझ त आजकल के प्रवृत्ति चलेको छ भने, दुलहा ले नै दाइजो को लागि सामान छान्ने, आफूलाई मन परेको कार, मोटरसाइकल,फर्निचर लगायतका दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरूको साथै विवाहमा दुलहाले लगाउने कोटपेन्ट पनि दुलही पट्टीले नै बेहोर्नुपरेको देखिन्छ। दाइजो भनेको बुबाले आफ्नो जीवन भर कमाएको र जम्मा गरेको रकम आफ्नो छोरीको बिदाइ सम्म सकाउने र बुबालाई ऋणमा डुबाउने सामाजिक कुरीतिको प्रक्रिया हो। दुलहा पट्टीको माग पुरा गरेबापत बुबा ऋणमा डुबेर आफ्नो आत्महत्या गर्न बाध्य हुन्छन् र विवाहपछि गरिएको पुनः माग पुरा नभएको खण्डमा यातना खेप्न नसकेर दुलहीले आत्महत्या गरेको वा ज्यान मारिएको कैंयौं मुद्दा अझ पनि हाम्रो समाजले ढाकछोप गरेको देखिन्छ।
हाम्रो समाजमा कस्तो खालको मनोवृत्ति रहेको पाइन्छ भने दुलही लाई दाइजो ले नै दाँज्ने, दुलही सँग को व्यवहार उसले ल्याएको दाइजो बमोजिम गरिने (अर्थात् यदि सामान महँगो र ब्रान्डेड छ भने बढी सम्मान र यदि सामान्य रह्यो भने पाउनुपर्ने जति को सम्मान नपाउने, हेला गरिने), यदि दुलही ले पाएको दाइजो भन्दा छरछिमेकमा यदि कुनै दुलही ले राम्रो ब्रान्डेड दाइजो पाएको छ भने उ सँग दाँजेर हेला गर्ने, गिल्ला (Taunt) गर्ने र शारीरिक वा मानसिक रूपमा यातना दिने जस्ता मनोवृत्ति अझ पनि अवस्थित छ । अझ त गाउँघरमा मानिस विवाहमा सामेल हुन कम दाइजो हेर्न बढी आउँछन् अर्थात् उनीहरूको मुख्य उद्देश्य नै दाइजोको सामान हेर्नु रहेको हुन्छ। उनीहरू विवाहमा उपस्थित हुँदा के कस्तो खालको सामग्री दाइजो को रुपमा आएको छ भनी चासोका साथ खोजी गर्छन् र ती सामग्री माथि आफ्नो टिप्पणी पनि राख्छन्। अर्थात्, विवाह मा दुलही भन्दा उसले ल्याएको दाइजोको बढी महत्त्व रहेको हुन्छ।
यहाँ सम्म कि विवाह मा आफूले चाहे जति को सामान भएन भने वा केही कमी कमजोरी देखियो भने दुलहा पट्टीको ले दुलही लाई विवाह को मण्डप बाट नै छाडेर गएको वा घरमा लगी दुलही ले पाएको दाइजो तोडफोड गरेको घटना पनि थुप्रै छन्, केवल सार्वजनिक नभएको मात्रै हो। अर्थात् यदि समाजका सबै जना एकजुट भएर त्यस्ता सुट बुट लगाएका भिखारी हरुलाई समाजबाट बहिष्कार गर्छन् भने हदै सम्म दाइजो प्रथा कम हुनेछ। छोटकरीमा भन्नुपर्दा समाज ले नै दाइजो प्रथालाई बढावा दिएको हो।
नेपालमा परम्परागत रूपमा विवाहमा लिइने लेनदेनलाई पूर्ण रूपमा अस्वीकार गरिएको थिएन। मुलुकका विभिन्न समुदायमा तिलक, दहेज, दाइजो आदिका नाममा विवाहमा गरिने लेनदेनले उखेल्नै नसकिने गरी जरा गाडेको पाइन्छ । कानुनमा कठोर व्यवस्था हुँदै गए पनि विवाह गरिने लेनदेनले नयाँ नयाँ रूप लिएको देखिन्छ । यसका कारण न्यून वर्ग तथा मध्यमवर्ग कि छोरी चेलीको विवाह कठिन बनेको मात्र नभई कम दाइजो ल्याएको निहुँमा कति महिलाले अनाहकमा घरेलु हिंसाबाट पीडित भई आफ्नो ज्यानै गुमाउनु परेको यथार्थ सबैका सामु छर्लङ्ग छ । यस प्रकृतिको कार्य नियमन गर्न सामाजिक व्यवहार सुधार ऐन, २०३३ ल्याइयो। सो कानुनले विवाहको नाममा तिलक लिने, पढाई खर्च लिने, दहेज वा दाइजो माग गर्ने दुलहा र दुलहाको परिवारलाई कानुनी दायरामा ल्याउने प्रयास गरेको थियो। तर कार्यान्वयन हुन सकेन । उल्टै कार्यान्वयन हुन नसकेको कानुनको उदाहरणको रूपमा नेपालको कानुनी इतिहासमा रहन पुग्यो ।
विगत एक दशकदेखि दाइजो प्रथाको अन्त्यको लागि सरकार र नागरिक समाजले थुप्रै कानुनी अपनाए पनि नेपाली समाजमा अहिले पनि दाइजो प्रथा कायमै छ। दाइजो प्रथा गरिबी वा अशिक्षा को कारण मात्र नभई बढी शिक्षित र उच्च ओहोदामा रहेका लोभिहरुले झन् बढावा दिएको पाइन्छ। दाइजोको अत्यधिक माग सम्पन्न, सुखी र शिक्षित परिवारबाट भएको पाइन्छ।
नेपालमा दाइजो प्रथा निवारण सम्बन्धी कानुनी प्रावधान
मुलुकी अपराध संहिता, २०७४ को भाग २ (फौजदारी कसुरहरू) को परिच्छेद ११ (विवाह सम्बन्धी कसुर) को दफा १७४ बमोजिम विवाहमा लेनदेन गर्न नहुनेस्
१) आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन ।
२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।
३) कसैले विवाह गरी सकेपछि उपदफा ९१० बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन ।
४) उपदफा (३) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५) उपदफा (१) वा (३) बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ ।
यस सन्दर्भमा संहितामा भनिएको छ- विवाह गर्दा गरिने लेनदेनको कारण प्रथाबाट परिवार तथा समाजमा परेको असर, विदेशमा रहेको कानुनी व्यवस्था समेतलाई मध्यनजर गरी विवाहमा गरिने लेनदेन कारोबार तथा विवाहपश्चात् त्यस्तो लेनदेनको नाममा दुलही पक्षलाई सताउने वा दुर्व्यवहार गरिने कार्यलाई गम्भीर रूपमा लिई त्यस्तो कार्य फौजदारी कसुर ठहरिने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। त्यसैले यो दाइजो वा दहेजको सन्दर्भ र यो लिनदिने अपराधजन्य काम हो भन्ने यो दफाले व्यवस्था गरेको पाइन्छ। यद्यपि, यो दफाले आफ्नो परम्परादेखि आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनालाई भने यो दाइजो वा देहजको रूपमा मानेको छैन। अर्कोतर्फ यो दफाले केटा र केटी दुवैका तर्फबाट कुनै पनि चल अचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्ने गराउने कुरालाई देहजको रूपमा लिएको पाइन्छ।
नेपालमा दाइजो लिने र दिने कुरालाई निषेध गर्ने सामाजिक सुधार ऐन, २०३३ अभ्यासमा भए पनि यस सम्बन्धमा मुद्दाहरू अदालतमा परी यो ऐनको व्यवस्था कार्यान्वयन भएको देखिँदैन। यसको कारण ऐन लागू गर्ने व्यक्तिहरूका तर्फबाट नै यो दाइजो अत्यधिक लिने र दिने काम हुने भएकाले ऐन प्रायः नभए सरह नै छ। भारतीय अभ्यास हेर्दा यो देहजको सन्दर्भमा मुद्दाहरू अदालतमा आउने गरेको देखिन्छ।
मुद्दा
आफ्नी छोरी अनिताको विवाह अमेरिकामा इन्जिनियर रहेका विपक्षीका छोरा प्रदीप सँग यी निवेदक एल भि जादवले गर्दछन्। दुवैको मगनी (engagement) मा विवाहको उत्सव सुरु हुन्छ। विवाह रहँदा कै क्रममा यी अनितालाई अमेरिका जानको लागि लाग्ने रु.५०,०००/- दिनुपर्ने अनि मात्र उत्सव अगाडि बढ्ने भन्ने माग विवाहको क्रममा नै केटा तर्फबाट राखिन्छ । यसमा केटीका स्वीकृति जनाइको भन्ने उल्लेख छैन । केवल यो प्रस्तावमा गन्यमान्य व्यक्तिहरू बीच राखी विवाह सम्पन्न भएको भन्नेसम्म तथ्यमा उल्लेख छ। विवाहपछि यी प्रदीप दुलही अनितालाई घरमा छोडी आफू अमेरिका जान्छन्। तर दुलहीका तर्फबाट उक्त ५० हजार नदिएकोले दुलहीलाई अमेरिका लाने प्रक्रिया नै यी प्रदीपले अगाडि नबढाए पछि यी अनिताका पिता निवेदकले दहेज मागेको मुद्दा लिएर अदालतमा गएका छन्।
यो मुद्दामा विवाह गरिसकेपछि दहेज मागेको नभै विवाह उत्सवकै क्रममा उक्त रकम दिन भनेको दिने लिने बारे कुनै सहमति नभएकोले यो कुरा दाइजो नियन्त्रण ऐन, १९६१ को दफा ४ लागू नहुने जिकिर लिइएको पाइन्छ । यो मुद्दामा "बेहुला" र "बेहुलीको डिक्सनेरीको अर्थ- According to Webster New World Dictionary, 1962 edn. "bride means a woman who has just been married or is about to be married, and bridegroom means a man who has just been married or is about to be married." लाई पनि उल्लेख गरिएको छ । यो मुद्दामा दाइजो के हो र यसको स्वरूप के कस्तो हुन्छ भन्ने व्याख्यान भई उक्त रकम माग गर्नु दहेज नै हो, जुन ऐनबमोजिम कसुर हो भन्दै यसको थप कारबाही अगाडि बढाउन मेजिष्ट्रेटलाई अदालतले आदेश दिने निष्कर्ष दिएको पाइन्छ।
विवाहको उत्सवमा उक्त रकम लिने र दिने सहमति नभएकोले उक्त ऐन लागु नहुने तर्क गरिए पनि यो मुद्दामा अदालतले उक्त माग देहज नै हो भन्ने मान्यता राखेको पाइन्छ। त्यसैले यो दाइजोको लेनदेन भनेको विवाह पूर्व, विवाह उत्सवकै समयमा वा केही समयपछि पनि लिन र दिन सकिने दृष्टान्त यो मुद्दाबाट पनि देखिएको छ। यस्तै कुरालाई लिएर यस दफामा विवाहपछि पनि कसैले अचल सम्पत्ति वा दाइजो माग्न नहुने वा दाइजो नदिएको कारणले दुलही तथा निजका नातेदारलाई हैरान पार्न नहुने व्यवस्था गरिएको छ। यदि यस विपरीत काम गरिएमा विवाहपछि पनि मुद्दा लाग्ने र असुर कायम हुने यो दफाको व्यवस्थाबाट देखिन्छ।
निष्कर्ष
मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख भए बमोजिम विवाहमा परम्परादेखि चली आएको सामान्य उपहार, भेटी वा दक्षिणासम्म लिन दिन हुन्छ । तर विवाहकै लागि भनेर दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा नगद लगायत अन्य कुनै सम्पत्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माग गरेमा वा विवाह गर्न त्यस्तो सम्पत्ति लिने दिने सर्त राखेमा विवाह सम्बन्धी कसुरको रूपमा लिई सजाय हुने व्यवस्था गरेको छ।
साथै विवाह गरी सकेपछि पनि कसैले चल, अचल सम्पत्ति वा दाइजो माग गरेमा वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गरेमा अझ गम्भीर कसुर हुने गरी त्यस्तो कार्यलाई अपराधीकरण (Criminalization) गरिएको छ । यसमा दुलाहा तथा निजको परिवारका कुनै पनि सदस्यले दाइजोको नाममा दुलही तथा दुलहीका माइतीपट्टिका नातेदारसँग चल, अचल, नगद वा कुनै प्रकारको सम्पत्ति माग गर्न नहुने तथा माग गरेको त्यस्तो सम्पत्ति नदिएको कारण कुनै किसिमले शारीरिक वा मानसिक दबाब दिन नहुने, अपमान जन्य कार्य, क्रूरता वा अमानवीय कार्य गर्न नहुने जस्ता कुरालाई कसुर कायम गरिएको छ।
यदि तपाईँसँग या तपाईँ नजिक यस्ता कुरीति लाई बढावा दिई रहेको पाइयो भने तुरुन्तै प्रहरी लाई सम्पर्क गर्नुहोला। विवाह लाई सजिलो बनाउनुस्, र सुरुवात आफ्नै घर, समाज र समुदायबाट गर्नुस्। मानव भएर अमानवीय व्यवहार नगरौँ।
नवराज पराजुली को "सगरमाथाको गहिराई" कविता सङ्ग्रह को "सतीदेवीको गाण्डीव" कविताको पङ्क्तिमा दाइजो प्रथाको उत्पीडन लाई यसरी दर्साइएका छन्:-
फरक यत्ति हो कि
सतीका पिता दक्ष प्रजापतिले
महादेवको हातमा
निम्तो स्वरूप फूलको थुङ्गा नराखिदिँदा
सती जिउँदै जलिन्,
अनि मेरा पिताले
मेरो पतिको हातमा
दाइजो स्वरूप मोटरसाइकलको चाबी राखिदिन नसक्दा
मलाई जिउँदै जलाइयो।
आज म लिएरै जानेछु तिम्रो फोक्सोबाट सास
र त्यही श्वासले
म
सजायका नाम लेखिएका यति धेरै बेलुन भर्नेछु कि
छोरो जन्मिएको हरेक घरको मूल ढोकामा
खबरदारीको एउटा-एउटा बेलुन झुन्ड्याउन पुगोस्
ता कि
भविष्यमा कुनै पनि छोरीको जिन्दगीको बेलुन
दाइजोको काँडामा ठोक्किएर फुट्न नपरोस्।