झापामा नक्कली धनिपुर्जा वितरण प्रकरण : गिरोहका थप तीन जना पक्राउ
नक्कली लालपुर्जा दिएर सर्वसाधारणलाई ठग्ने गिरोहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका ६ पूर्व प्रगति टोल (मेची डाँडा) को ऐलानी जग्गामा बसोबास गर्ने करिब एक सय जना सर्वसाधारणसँग रकम असुलेर नक्कली पुर्जा बाँड्ने मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।‘एक जना फरार रहेकाले खोजी भइरहेको छ ’ भारतीले भने ,‘ उनी पक्राउ परेपछि सबै कुरा सार्वजनिक गर्छौ । ’ प्रहरीले सबैभन्दा पहिला बैशाख १२ गते मेचीनगर ६ का ७३ वर्षीय ज्ञानबहादुर गिरीलाई पक्राउ गरेको थियो । त्यसपछि बैशाख १५ गते मेचीनगर ६ का ७५ वर्षीय भुपध्वज दाहाल खत्री र बैशाख १६ गते सोही स्थानका ५४ वर्षीय टंक खड्कालाई पक्राउ गरेको थियो । त्यस्तै बैशाख २० गते नक्कली पुर्जा बाँड्ने मुख्य योजनाकार शिवसताक्षी नगरपालिका ५ का डिल्लीराम मैनाली पक्राउ परेको प्रहरी नायव उपरीक्षक भारतीले बताए । उनीहरूलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
मैनालीले वैदेशिक रोजगारीमा पठाइदिने भनेर पनि सयौँ युवालाई लाखौँ रुपैयाँ ठगेको पाइएको छ ।हिरासतमा रहेका अभियुक्तको बयानका आधारमा नक्कली लालपुर्जा प्रकरणका अर्का एक व्यक्तिको मुख्य संलग्नता छ । उनी फरार छन् । प्रहरीले उनको नाम खुलाएको छैन । प्रहरीका अनुसार नक्कली लालपुर्जा बाँडेर अभियुक्तहरूले सर्वसाधारणसँग १० हजारदेखि अधिकतम ७० हजार रुपैयाँसम्म असुलेका थिए । नक्कली पुर्जामा सम्बन्धित जग्गाधनीको फोटो टाँस गर्नुका साथै रातो मसीले किर्ते सहीछापसमेत गरिएको पाइएको छ । नक्कली जग्गाधनी पुर्जा तयार पारी दिएकाले उनीहरूमाथि आवश्यक कारबाही गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय झापामा निवेदन प्राप्त भएपश्चात् संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने तथा खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।